नेपालमा लेखक,साहित्यकारलाई लेखेर र पत्रकारलाई पत्रकारिता गरेर मात्र गुजारा चलाउन सकिने अवस्था छैन । यसका अलावा आम्दानी हुने अन्य पेशा वा व्यवसाय गर्नुपर्ने अवस्था रहेको छ । विदेशमा लेखक ,साहित्यकार र पत्रकारलाई सम्मानजनक दृष्टिकोणले हेर्ने गरिन्छ । विकसित मुलुकमा लेखक,साहित्यकार र पत्रकारहरू करोडपति बनेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् ।
यो पङ्क्तिकारले कालिकोटदेखि सङ्खुवासभासम्मका गाउँबस्ती घुम्दा स्वदेशी तथा विदेशी पत्रकार र साहित्यकारको सङ्गत गरिसकेको छ । विदेशमा पत्रकारलाई निश्चित बिषयको रिपोर्टिङ गर्न निश्चित रकम निर्धारण गरेर पठाउने गरिन्छ । त्यस्तै लेखक,साहित्यकारलाई लेखरचना उपलब्ध गराएबापत सधन्यबाद् पारिश्रमिक दिइने गरिन्छ । नेपालमा भने पत्रकारले तयार पारेको सामग्री प्रकाशित वा प्रसारित भयो भने मात्र संख्या गिन्ती गरेर भत्ता उपलब्ध गराउने गरिन्छ ।
कुरा पुस्तक प्रकाशनको हो । अचेल नेपालमा प्रकाशन गृहहरू बग्रेल्ती खुलेका छन् । तर ती प्रकाशन गृहहरूले लेखक साहित्यकारको पुस्तक प्रकाशन गर्दा शोषण गरिरहेका हुन्छन् । पुस्तक प्रकाशन र बिक्री वितरण गर्ने जिम्मा लिएका प्रकाशन गृहहरूले अग्रिम रोयल्टी लेखकस्व ) दिएर निश्चित प्रतिको लागि सम्झौता गर्नुपर्नेमा उल्टै विभिन्न बहाना बनाएर लेखकबाट रकम असुल्ने गरेका समाचार हामीले पढिरहेका हुन्छौं ।
नेपालमा नाम चलेका र विश्वासिलो मानिएका प्रकाशन गृहहरूले पनि लेखकलाई पन्ध्र प्रतिशतभन्दा बढी लेखकस्व दिदैनन् । पचास प्रतिशत लागत मूल्य , पच्चीस प्रतिशत प्रकाशकलाई नाफा, पन्ध्र प्रतिशत लेखकस्व र दश प्रतिशत विज्ञापन वितरण खर्च जोडेर एकप्रति किताबको मूल्य निर्धारण गरिन्छ । तर धेरै प्रति छापेर पनि कर र लेखकस्व छल्न थोरै प्रति मात्र उल्लेख गर्ने गरिएको पाइन्छ ।
तर अचेलका प्रकाशन गृहहरू सेवा होइन ,व्यापार गर्ने गर्छन् । जुन पुस्तक छाप्दा बढीभन्दा बढी प्रति बिक्री हुन्छ , त्यस्ता पुस्तक मात्र छानेर प्रकाशन गर्ने गर्दछन् । चर्चा कमाएका लेखक साहित्यकार र चर्चा कमाएका सेलिब्रिटीहरूले लेखेका पुस्तक धेरै बिक्री हुने भएकोले प्रकाशकको रोजाइमा सेलिब्रिटी नै पर्ने गरेका छन् । नाम नचलेका र चर्चा नकमाएका व्यक्तिले जति नै राम्रो पुस्तक लेखे पनि प्रकाशकहरू छाप्न तयार हुँदैनन् । किनकि यो समय विज्ञापन गरेर सामान बिकाउने समय हो । मञ्चमा आउने र मिडियामा धाउनेहरूको समय हो ।
टन्न पैसा हुनेहरूलाई किताब प्रकाशन गर्न मिडिया हाउसहरूको दैलो धाइरहनु पर्दैन ।आँफैले छपाउन खोजिएको पुस्तक स्तरीय हुनुपर्छ भन्ने पनि छैन । जे जस्तो लेखे पनि पैसा तिरेर भाषा तथा रचना सम्पादन गराउन र भूमिका लेखाउन सकिन्छ । आकर्षक डिजाइनमा पुस्तक तयार गरेर तामझामका साथ पुस्तक लोकार्पण (विमोचन) गराउन पनि सकिन्छ । आफ्नो नाम राख्नलाई रकम खर्च गर्नु कुनै गल्ती होइन जस्तो उनीहरूलाई लाग्छ । तर ,यसरी छापिने पुस्तकको स्तरीयतामा प्रश्नचिन्ह उठिरहेको हुन्छ ।
नेपाली साहित्यमा वर्षेनी बिस हजार किताब छापिन्छन्। यसमा लगभग पाँच हजार जति किताब विदेशमा बस्ने नेपाली साहित्यका साधकहरू आउँछन् र छपाउँछन्। लगभग त्यति नै किताब ग्रामीण क्षेत्रमा बसोबास गर्ने साहित्य साधकहरूले गाउँपालिकाका अध्यक्ष वा स्थानीय स्कुलका हेडमास्टरको अगुवाइमा सहर बजारमा आएर छपाउँछन्। यसरी बर्सेनि थपिने लगभग बिस हजार किताबहरूमा लगभग असी–नब्बे वटा किताबहरू स्तरीय हुन्छन्; पठनीय हुन्छन्।
जुन विधा र जुन बिषयवस्तुका पुस्तकहरू बढी बिक्री हुन्छन् , प्रकाशकहरू त्यस्ता पुस्तक छाप्न तयार हुन्छन् । स्तरीय र पठनीय भए पनि धेरै नपढिने विधाका र चर्चा नकमाएको लेखकको पुस्तक छाप्न प्रकाशकहरू उति सारो रुचाउदैनन् । त्यसैले गर्दा आर्थिक अवस्था कमजोर हुने सिकारु लेखक साहित्यकारले न कुनै गतिलो प्रकाशक भेट्टाउछ , न त आफ्नै खर्चमा पुस्तक प्रकाशन गर्न सक्छ । यस्तो अवस्थामा एउटा असली साहित्य पनि छायामा परेर उद्घाटित हुनबाट वञ्चित भैरहेको हुन्छ ।
पुस्तक प्रकाशन गर्नुका दुइवटा कारण हुन्छन् । पहिलो नाम कमाउने ,दोस्रो दाम कमाउने । नाम कमाउने उद्धेश्य लिएको मान्छेले नाफाघाटाको हिसाब हेर्दैन । परेको अवस्थामा जति पनि खर्च गर्न तयार हुन्छ । यस्ता पुस्तकहरू प्राय: विशुद्ध साहित्यिक कृतिहरू हुन्छन् । दाम कमाउने उद्धेश्यले लेखिएका पुस्तकहरू लक्षित वर्गको लागि लेखिने गरिन्छन् । जस्तो – स्कूल तथा कलेजका पाठ्यपुस्तकमा आधारित गाइड तथा गेसपेपरहरू । त्यस्तै , लोकसेवा आयोग र अन्य संस्थाको परीक्षाको लागि सहयोगी पुस्तकहरू पनि दाम कमाउने उद्धेश्यले छापिने पुस्तकहरू हुन् ।
यो पङ्क्तिकारलाई धेरै साथीभाइहरुले सोध्ने प्रश्न हो – विगत ४०-४५ वर्षदेखि लेख्दै आएको मान्छेले पनि किन किताब ननिकालेको ? उत्तर सहज छ – आँफैले जिम्मा लिएर किताब निकाल्ने हो भने लगानी उठाउन सकिदैन । किनभने किताब बाँडेर सकिन्छ । कुनै प्रकाशक र वितरकलाई जिम्मा दिने हो भने सेलिब्रिटी भइनसकेको मान्छेको कृति छाप्न इच्छुक देखिदैनन् र लेखकस्व पनि दिन हिच्किचाउछन् । फेरि साहित्यिक कृतिहरू किनेर पढ्ने मानिसहरू ज्यादै कम हुन्छन् । एउटा गजल सङ्ग्रह आँफैले प्रकाशन गर्दा लगानी डुबेको अनुभव पनि पङ्क्तिकारसँग छ ।
म्यागासेसे पुरस्कार पाएर सेलिब्रिटी भइसकेका वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा लेखे । उनले यो पुस्तक कुनै प्रकाशन गृहलाई दिएको भए मजाले छाप्ने थिए र कमाउने पनि थिए । तर उनले त्यसो नगरी पुस्तक आफ्नै खर्चमा छापेर आँफैले बिक्री वितरण गर्दै हिंडें । अनि उक्त पुस्तक बिक्री गरेको आम्दानी राष्ट्रिय आविष्कार केन्द्रको खातामा दाखिला गरे । कुनै चर्चामा नआएको सर्वसाधारण व्यक्तिले भने यसरी पुस्तक बिक्री गर्न सक्दैन । किनभने व्यापार पुस्तकका कारण नभै मान्छेका कारणले हुने गर्दछ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन् -“जसले समाजको हानि गर्छ ,त्यो जहर हो ,जरुर असली साहित्य होइन । हृदय र मस्तिष्कको सन्तुलित विकासको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौं । “वास्तवमा असली साहित्य थोरै मात्र लेखिन्छ र थोरै मात्र पढिन्छ । हाम्रो देशमा ज्ञान र बुद्धि बढाउनको लागि भन्दा पनि मनोरञ्जन प्राप्त गर्नको लागि पढ्ने मानिसहरूको संख्या बढी छ । मनोरञ्जन मात्र दिलाउने साहित्यिक पुस्तक छाडा र अश्लील हुने गर्छन् । प्रेम र यौनको वरिपरि घुमेका सस्ता उपन्यास र कथाहरूले पनि असली साहित्यको तुलनामा राम्रो कमाइ गरिरहेका हुन्छन् । यो अहिलेको जमानाको करामत हो भन्ने बुझिन्छ ।
अहिले आएर एकल कृति प्रकाशन गर्नुको सट्टा सामूहिक् रूपमा संयुक्त कृति प्रकाशन गर्ने लहर पनि चलेको देखिन्छ । अचेल फेसबूकमा साहित्यका विभिन्न विधाहरू अभ्यास गर्ने गराउने थुप्रै ग्रुपहरू छन् । यसरी सामूहिक रुपमा अभ्यास गरेर तयार भएका रचनाहरूलाई संयुक्त कृतिको रूपमा प्रकाशन गर्ने र खर्च रकम दामासाहीले व्यहोर्ने गरिएको पाइन्छ । यसलाई साहित्यमा भर्खर लागेका नवसर्जक र सिकारुहरूको लागि उत्प्रेरणा जगाउने अभियानको रूपमा पनि लिन सकिन्छ । प्रतिभा प्रस्फुटनको लागि समय र परिवेश अनुकूल रहेसम्म एउटा लेखक वा साहित्यकारले कलम नै रहेको हुन्छ र फुटकर रचनाको रूपमा रचना छपाइरहेको हुन्छ र थोरै रकम भए पनि पारिश्रमिक हात पारिरहेको हुन्छ । किताब निकाल्ने कुरा चाँहिं उसको भाग्यमै निर्भर रहेको हुन्छ ।