स्थानीय तहको कार्यसम्पादन : म्याग्दे गाउँपालिका तनहुँमा प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहको कार्यसम्पादन : म्याग्दे गाउँपालिका तनहुँमा प्रथम

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८१, आईतवार

    दमौली । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँका दश स्थानीय तहमध्ये म्याग्दे गाउँपालिका जिल्लामा प्रथम भएको छ ।

    आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ७२.५० अंक प्राप्त गरी म्याग्दे जिल्ला प्रथम भएको हो ।

    गत माघ ३० गते प्रकाशित गरिएको प्रारम्भिक नतिजा पुनरावलोकनका लागि सात दिनको समय दिई सो अवधिमा प्राप्त निवेदन माथि कारवाही पश्चात् आइतबार अन्तिम नतिजा प्रकाशित गरिएको छ ।

    आयोगले सोही नतिजाको आधारमा आर्थिक वर्ष २०८२/८३ लागि वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्नेछ ।

    सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको छ ।

    समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजश्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेश गरे नगरेको विषयलाई सूचकमा समावेश गरिएको थियो ।

    यस्तै आन्तरिक राजश्वको लक्ष्य र सङ्कलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।

    जिल्लास्थित भानु नगरपालिकाले ७१.४३, व्यास नगरपालिकाले ५६.४५, म्याग्दे गाउँपालिकाले ७२.५०, शुक्लागण्डकी नगरपालिकाले ६२.३८, भिमाद नगरपालिकाले ६८.३९, घिरिङ गाउँपालिकाले ४३.१७, ऋषिङ गाउँपालिकाले ५६.३०, देवघाट गाउँपालिकाले ५०.६७, बन्दीपुर गाउँपालिकाले ५७.८२ र ऑबुखैरेनी गाउँपालिकाले ५५.९५ अंक प्राप्त गरेको छ ।