आदिकवि क्याम्पसमा स्नातक तहमा वृद्धि भएको मासिक शुल्क २५ प्रतिशत घटाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि क्याम्पसमा स्नातक तहमा वृद्धि भएको मासिक शुल्क २५ प्रतिशत घटाइने

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८१, शनिबार

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले स्नातक तहमा वृद्धि गरिएको मासिक शुल्क २५ प्रतिशतले घटाउने निर्णय गरेको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले स्नातक तहमा वृद्धि भएको मासिक शुल्क आगामी वैशाख महिनादेखि लागु हुने गरी २५ प्रतिशत घटाउने निर्णय गरेको हो ।

    क्याम्पसले यसअघि नियमित शुल्क नबुझाउने विद्यार्थीको मासिक शुल्कमा थप दश प्रतिशत विलम्ब शुल्क लिने व्यवस्थामा परिवर्तन गरी विसं २०८२ वैशाखदेखि छ महिनासम्म मासिक शुल्कमा कुनै पनि विलम्ब शुल्क नलिने र त्यसपछि विलम्ब शुल्क मासिक पाँच प्रतिशत लिने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए।

    यसबाट पर्ने आर्थिक भारको व्यवस्थाका लागि क्याम्पसले थप खर्च कटौती र आन्तरिक तथा बाह्य स्रोतको दिगो तथा अधिकतम परिचालनको अभियान सञ्चालन गर्ने निर्णय गरेको श्रेष्ठले बताए।

    क्याम्पसले शैक्षिक, प्रशासनिक तथा भौतिक सुधारका कार्यक्रम सञ्चालन गर्नका लागि प्रशासनिक खर्चमा वृद्धि भएकाले आर्थिक वर्ष २०८०÷८१ को असोज महिनाबाट स्नातक तहमा मासिक शुल्क रु एक हजार आठ सय कायम गर्ने निर्णय गरेको थियो । तर तत्कालिन स्वतन्त्र विद्यार्थी युनियनको आपत्ति पश्चात् उक्त वृद्धि भएको शुल्कमा रु तीन सय घटाएर प्रति महिना रु एक हजार पाँच सय कायम गरिएको थियो ।

    स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्घसङ्गठनको मागलाई सम्बोधन गर्न र क्याम्पसले आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि पटक पटक आयोजित छलफल पश्चात् क्याम्पसले विद्यार्थी शुल्कमा मात्रै निर्भर भएर आर्थिक व्यवस्थापन नहोस् भन्नका लागि शिक्षकहरुको प्रतिदिन एक पिरियड पाठ्यभार बढाएको जनाएको छ ।