दमौली, १३ चैत । तनहुँको व्यास नगरपालिका–४ प्रेमचौतारास्थित दमौली भोर्लेटार भित्री सडकखण्डमा बुधबार बिहान ११ः४५ बजे विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
दमौलीबाट भोर्लेटारतर्फ जादै गरेको ध १ ख ५५२ नम्बरको बस र विपरित दिशाबाट दमौलीतर्फ आउँदै गरेको कन्काइ ग्लोवल एकेडेमीको ग १ ख ४६९२ नम्बरको बस एकआपसमा ठक्कर खाँदा पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा विद्यार्थी बोकेको बसका चालक व्यास नगरपालिका–१० बस्ने ४६ वर्षीय दुर्गाबहादुर गुरुङ, सहचालक सोही ठाउँ बस्ने ४५ वर्षीय जितबहादुर दरै, सोही ठाउँ बस्ने १६ वर्षीया रुमा थापा, व्यास नगरपालिका–१बस्ने १५ वर्षीय नैन अवस्थी र व्यास नगरपालिका–२ बस्ने १४ वर्षीय मोहम्मद सकिम रहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
ध १ ख ५५२ नम्बरको बसमा चार जना र विद्यार्थी बोकेको बसमा २५ विद्यार्थी र दुर्ई स्टाफ सहित २७ जना सवार थिए । घाइतेहरुलाई दमौलीस्थित रत्नहरि अस्पतालमा पठाइएको प्रनाउ थापाले बताए ।