नेपाली सेनाको गोरखा जितगढी एकीकरण पदयात्रालाई दमौलीमा (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली सेनाको गोरखा जितगढी एकीकरण पदयात्रालाई दमौलीमा (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०८१, शनिबार

    दमाैली, ३० चैत । नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा आज तनहुँको दमौली आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तमा हस्तान्तरण गर्ने उद्धेश्य सहित चैत २८ गतेदेखि सुरु पदयात्रा शनिबार दमौली आइपुगेको हो ।

    दमौलीमा व्यास नगरपालिकाले पदयात्राको टोलीलाई स्वागत गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इतिहास संरक्षणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

    मुख्यमन्त्री पाण्डेले भने, “नेपाल एकीकरणको सन्दर्भमा कसरी यात्रा भएको थियो, कसरी अगाडी बढेको थियो, तत्कालिन गोरखाली राजालाई गोरखाली जनताले साथ दिएर नेपालको एकीकरणको यात्रालाई सफल बनाएको कुरा यो यात्राले स्मरण गर्न सहयोग पु¥याएको छ ।”

    मुख्यमन्त्री पाण्डेले आफू गोरखाली र पाण्डे भएको गौरव लाग्ने चर्चा गर्दै नेपाल एकीकरणको यात्रामा पृथ्वीनारायण सँगसँगै हिँडेर धेरै पाण्डेहरुले ज्यानको आहुति दिएको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले नेपाली सेनाले सुरु गरेको पदयात्रालाई सम्बन्धित स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेनाको एकीकरण पदयात्रालाई तनहुँमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियान अहिलेको पुस्ताका लागि अध्ययनको विषय बनेको बताए ।

    त्यसक्रममा मुख्यमन्त्री पाण्डे र नगरप्रमुख न्यौपानेले पदयात्राका टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

    गोरखाबाट सुरु भएको एकीकरण पदयात्राको टोली तनहुँको भानु, व्यास नगरपालिका–११ तनहुँसुर हुँदै दमौली आइपुगेको हो । आजै तनहुँसुरमा आयोजित कार्यक्रममा भानुबाट रुरु भैरवदल गणको नेतृत्वमा आएको टोलीले कालीभञ्जन गण (इ) लाई पदयात्राको झण्डा हस्तान्तरण गरेको थियो ।
    तनहुँसुरदेखि घिरिङ गाउँपालिकाको धेनुङसम्म कालीभञ्जन गण (इ) ले नेतृत्व गर्नेछ । धेनुङ देउरालीमा कालीभञ्जन गण (इ)ले श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गर्ने कालीभञ्जनका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

    तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ ।

    केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

    पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।