बेबिलोनको झुलन बगैंचाको झल्को दिने तनहुँको घाङ्च ल्हुम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेबिलोनको झुलन बगैंचाको झल्को दिने तनहुँको घाङ्च ल्हुम

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८१, सोमबार

    दमौली, १ वैशाख । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित घाङ्च ल्हुम झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ को जस्तो झल्को दिन्छ ।

    त्यहाँ पुग्ने जो कोही पर्यटकले घाङ्च ल्हुमको दृश्यलाई प्राचीन विश्वका सात आश्चर्यका रुपमा लिइने बेबिलोनको झुलन बगैँचासँग तुलना गरेर हेर्ने गरेका छन् । इशापूर्व छ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न निर्माण गरिएको झुलन बगैंचाको स्वरुप यस्तै किसिमको रहेको इतिहासका पुस्तकमा राखिएका तस्बिरमार्फत जान्न र बुझ्न पाइन्छ ।

    घाङ्च ल्हुम परिसरमा अग्ला अग्ला ढुङ्गाहरू, जसका तल छपक्क मिलाएर ढुङ्गा छापेर पैदल हिड्ने बाटोहरू निर्माण गरिएको छ भने चराचुरुङ्गीका लागि ठाउँ ठाउँमा गुँड र पानी खानका लागि सानासाना पोखरी पनि बनाइएको छ । पार्क पसिरमा नै काठबाट निर्माण गरिएको चम्राली पिंग पनि छ ।

    विगतमा प्रचारप्रसार र बुझाइका कारण ओझेलमा परेको यो गन्तव्यलाई पछिल्लो समयमा भने संरक्षण र प्रवद्र्धन गर्न थालिएको भिमाद नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । मोहरियास्थित सामुदायिक बनमा अवस्थित घाङ्च ल्हुम बनको भित्री भागमा रहेको छ । घाङ्च ल्हुमलाई साजसज्जा गरेर चिटिक्क पारेसँगै यो स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको उनले बताए ।

    मगर जातिको बाहुल्यता रहेको यस स्थानमा रहेको घाङ्च ल्हुम पनि मगर भाषाकै शव्द हो । मगर भाषमा घाङ्च ल्हुमको अर्थ अग्लो ढुंगा हुन्छ । अग्ला ढुङ्गाहरू रहेकै कारण यसलाई घाङ्च ल्हुम भनिएको यहाँका स्थानीयवासी बताउँछन् । अग्लाअग्ला ढुङ्गालाई चटक्क सिंगारेसँगै विगतमा उपेक्षा गरिएका यी ढुङ्गाले देश विदेशका मानिस आकर्षित गर्दा आँफूहरू निकै खुसी बनेको स्थानीयवासी भक्तबहादुर थापाले बताए ।

    वडा अध्यक्ष थापाका अनुसार २०७७ सालमा गण्डकी प्रदेश सरकारको सहयोगमा सो मातहतको डिभिजन बन कार्यालय तनहुँले यस स्थाललाई पार्कका रुपमा निर्माण गरिदिएको हो । गण्डकी प्रदेशको २० लाख रुपैयाँ सहयोगसँगै स्थानीयको १० प्रतिशत लागत साझेदारीमा निर्माण भएसँगै यो ठाउँले काँचुली फेरेको उनको भनाइ छ ।

    यसलाई बगैंचाको रुप दिन ढुङ्ग वरपरको बुट्यान तथा झाडी फाँडिएको थियो । झाडी फाँडिएसँगै आकर्षण देखिएका अग्ला ढुङ्गाको बीच तथा वरपर ढुङ्गा छापेर हिड्ने पैदल मार्ग निर्माण गरिएको छ । त्यस्तै परिसरमा धुपीका विरुवा रोप्नुका साथै ढुङ्गाको बीच बीचमा चराचुरुङ्गीका लागि गुँड र पानी पिउने साना पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने किसिमको संरचना पनि बनाइएको छ । यी सबै दृश्यका कारण पछिल्लो समयमा यो स्थान सामाजिक सञ्चालमार्फत चर्चामा आएको हो । भिमाद बजारबाट जम्मा १३ किलोमिटरको दुरीमा सवारीसाधन मार्फत यस ठाउँमा आउन सकिन्छ ।

    भिमाद क्षेत्रमा रहेका धेरै गन्व्यहरू प्रवद्र्धनको पर्खाइमा रहेको यहाँका स्थानीयवासी बताउँछन् । घाङ्च ल्हुम, सिद्ध गुफा, चमेरे गुफा, पाथर्दी झरना जस्ता धेरै स्थलहरूको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने नेपाली काँग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चुडामणि खनाल बताउछन् । पर्यटकीय स्थलको प्रवद्र्धनसँगै पर्यटकको आगमन बढाउन सकेमा त्यसले स्थानीय उत्पादनको बजारीकरणसँगै स्वरोजगार अभिबृद्धिका धेरै अवसर भित्राउन सकिने उनको भनाइ छ ।