तनहुँमा दुर्घटनामा ज्यान गुमाएका शिक्षक घलेलाई ‘शिक्षक सहिद’ घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँमा दुर्घटनामा ज्यान गुमाएका शिक्षक घलेलाई ‘शिक्षक सहिद’ घोषणा

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८२, सोमबार

    काठमाडौ, ८ वैशाख । नेपाल शिक्षक महासंघले काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भई घर फर्किदै गर्दा निधन भएका मनाङका एक शिक्षकलाई ‘शिक्षक सहिद’ घोषणा गरेको छ। शिक्षकहरुको काठमाडौंमा जारी २० दिनको आन्दोलनकै क्रममा आज (सोमबार) मनाङको नासों गाउँपालिका–८ का प्रधानाध्यापक मन घलेको निधनप्रति मौनधारणसहित यस आन्दोलनका क्रममा मृत्यु भएका ‘पहिलो शिक्षक शहीद’ घोषणा गरिएको हो ।

    शिक्षक आन्दोलनमा सहभागी भएर घर फर्कंदै गर्दा तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा आइतबार भएको स्कुटर र जीप दुर्घटनामा प्रधानाध्यापक घलेको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटना आइतबार दिउँसो डुम्रे–बेसीशहर सडकखण्डमा भएको हो। लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस (जीप) र विपरीत दिशाबाट आइरहेको स्कुटर एकआपसमा ठोक्किँदा जीप अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। दुर्घटनामा परी गम्भीर घाइते प्रधानाध्यापक घलेको उपचारको क्रममा लमजुङको नमुना सामुदायिक अस्पतालमा निधन भएको हो । उनी गण्डकी प्रदेशस्तरीय शिक्षक आन्दोलनमा सहभागी भएर फर्किंदै थिए । सोही जीपमा सवार लमजुङ, बेसीशहर नगरपालिका–३ का लिलाप्रसाद बसौला घाइते भएका छन् ।

    उनी प्रधानाध्यापक समेत हुन् । उनको खुट्टा र मुखमा चोट लागेको छ र हाल उपचार भइरहेको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

    नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमबार काठमाडौंमा विहान ९ बजेदेखि नै आन्दोलनको कार्यक्रम सुरु भएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु भएको जानकारी दिएका छन्। उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैं अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् । शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।