दमाैली, २० वैशाख । लियो युथ क्याम्प २०२५ अन्तर्गत विद्यार्थीलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । लियो डिष्ट्रिक काउन्सील ३२५ एम नेपालको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नंं ६ को कार्यालयको आर्थिक सहयोगमा दुलेगौंडामा दुई दिने प्रशिक्षण सम्पन्न भएको हो ।
राजनीतिबारे विद्यार्थीलाई चासो कम हुदै गएको सन्दर्भमा संविधानले परिकल्पना गरेको तीन तहको सरकार अन्तर्गतको तल्लो सरकारको गठन प्रक्रिया र दायित्वबारे विद्यार्थीहरु आफै सहभागी भएर जानकारी लिएका हुन् । दुई दिने प्रशिक्षणमा शुनपा–६ का तीन विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो ।
शुक्रवार निर्वाचनकै माध्यमबाट उनीहरुले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सदस्यहरु चुनेको जिल्ला अध्यक्ष प्रेमराज तिवारीले जानकारी दिए । निर्वाचनमा खैरेनी माविका शिव कुमार श्रेष्ठले २० मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका थिए ।
नगर उपप्रमुख सुर्योदय इङ्लीस बोर्डिङ स्कुलकी अनाशिन राना सर्वसम्मत भइन । प्रमुख प्रशाकीय अधिकृत क्रिस्टिना रानाले भूमिका निर्वाह गरेकी थिइन् । नगर प्रमुखको भूमिका निर्वाह गरेका श्रेष्ठले यसअघि आफूले विभिन्न कार्यक्रममा मेयर र उपमेयरलाई देख्ने गरेको बताउदै तालिम पछि निर्वाचत हुने प्रक्रिया र आएपछिको दायित्वबारे थापा पाउने अवसर मिलेको उल्लेख गरे ।
सो अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापाले अहिलेदेखि विद्यार्थीलाई स्थानीय सरकारबारे जानकारी दिदा सकारात्मक चेतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम समापन पश्चात सहभागीले बैठक भत्ता समेत पाएका थिए ।
कार्यक्रममा वडा नं. ६ का सदस्यहरु कुल कुमार कुमाल, भक्त बहादुर राना, लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष विवेक वाग्ले, कार्यक्रम संयोजक प्रविण श्रेष्ठ लगायतले बोलेका थिए । तालिममा राष्ट्रिय युवा परिषदका प्रशिक्षक अविनाश कार्कीले सहजिकरण गरेका थिए । लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरेको हो ।Enter