दमाैली, २१ वैशाख । तनहुँको व्यास नगरपालिका–७ कलेस्तीका मनबहादुर कुमाललाई आफ्नो समुदायको पाउदुरे नाच छ भन्ने थाहा भएपनि कसरी नाच्ने थाहा थिएन । एक साताको प्रशिक्षण पश्चात् पाउदुरे नाच बारे धेरै कुरा सिक्ने अवसर मिलेको उनकाे भनाइ छ ।
उनले भने, “कुमाल समुदायको पाउदुरे नाचबारे धेरै नयाँ कुरा सिक्ने अवसर पायौ । संस्कृति संरक्षणका लागि कुमाल समाजले गरेको कार्यक्रम फलदायी भयो ।”
भानु निवासी रजनी कुमालले प्रशिक्षण पश्चात् अब पाउदुरे नाच्न सक्ने भएको बताउँदै संस्कृति संरक्षणमा आफूहरु जुट्ने बताइन् । उनीहरुमात्रै होइन व्यास नगरपालिका साँगेका रामकृष्ण कुमाल, कलेस्तीका मन्जु कुमाल पनि प्रशिक्षणले नयाँ कुरा सिक्ने अवसर जुटेको बताए ।
तनहुँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणपश्चात् ८० जना कुमाल समुदाय पाउदुरे नाच्न सक्ने भएका छन् । कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि अहिलेका पुस्तालाई पाउदुरे नाच सिकाउन नेपाल कुमाल समाज तनहुँले व्यास नगरपालिका–९ कुमालगाउँमा एक सातासम्म प्रशिक्षण सञ्चालन गरेको थियो । गत वैशाख १५ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज समापन भएको छ ।
प्रशिक्षणमा कुमाल समुदायका अगुवा दलबहादुर कुमाल, जयलाल कुमालले पाउदुरे नाचको बारेमा प्रशिक्षार्थीलाई सिकाएका थिए । उक्त प्रशिक्षणमा चार टोलीमा ८० प्रशिक्षार्थी सहभागी भएको समाजका अध्यक्ष आलोक कुमालले जानकारी दिए । जिल्लाभर विभिन्न ठाउँमा बसोबास गर्ने कुमाल समुदायलाई एकैठाउँमा भेला गरी पाउदुरेको प्रशिक्षण दिइएको उनकाे भनाइ छ । उनले भने, “अहिलेका पुस्तालाई पाउदुरेमा आकर्षित गर्न प्रशिक्षण सञ्चालन गरेका हौ । कुमाल समुदायको यो संस्कृति लोप हुन नदिने मुख्य उद्धेश्य हो ।”
जिल्लास्थित भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास रहेको छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार सात सय २७ रहेको कुमाल समाज तनहुँले जनाएको छ ।
पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताए ।
कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन ।
रामायण खण्डमा रामको जन्मदेखि बनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णको बारेमा गाइने गरिन्छ । गीतको शैली फरक फरक भएतापनि भाव एउटै हुन्छ ।
घिरिङ गाउँपालिकामा दसैं तिहारको अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । कुमाल समुदायको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा आफ्नो परिवार पाल्नका लागि विभिन्न कालखण्डहरुमा खेतीपाती लगायत जागिर, वैदेशिक रोजगारी आदिको सिलसिलामा जीविकोपार्जन गरिरहेको समुदायले खास गरि आफ्नो मौलिक संस्कृतिमा खासै ध्यान दिएको पाइदैन ।