सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८२, सोमबार

    दमौली, २२ वैशाख । तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवा सुविधा अझ नजिक पुर्याउन सेवा केन्द्र विस्तार गर्न थालेका छन् । जिल्लास्थित स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवा सुविधा प्रदान गर्ने उद्धेश्य सहित वडाको सेवा केन्द्र विस्तार गरिएको हो ।

    भिमाद नगरपालिका–८ ले वडाको सेवा केन्द्र भानुमतिमा स्थापना गरेको छ । यसअघि अरौदीमा वडा कार्यालय रहेकामा माथिल्लो भेगका जनतालाई वडा कार्यालयसम्म आएर सेवा लिन अपायक भएकाले सेवा केन्द्र स्थापना गरिएको वडाध्यक्ष अणबहादुर शाहीले बताए ।

    उनले भने, “जनताको मागबमोजिम नै सेवा केन्द्र विस्तार गरेका हौ । भानुमति भेगका जनतालाई अरौदीसम्म आएर सेवा लिन एक दिन छुट्याउनुपथ्र्यो, सवारी साधन कम चल्ने र हिँडेर आउनुपर्दा समस्या थियो । भानुमतिमै सेवा केन्द्र विस्तारपछि त्यस भेगका जनताले सहज ढङ्गबाट सेवा पाउनेछन् ।” उक्त सेवा केन्द्रबाट बिहीबार र शुक्रबार सेवा प्रदान गरिनेछ ।

    भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताए ।

    यस्तै जिल्लाकै आँबुखैरेनी गाउँपालिका–५ र ६ को सम्पर्क कार्यालय विस्तार गरिएको छ । वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रुपमा वडावासीलाई प्रदान गर्न दुई वडा कार्यालयको सम्पर्क कार्यालय विस्तार गरिएको हो ।

    आँबुखैरेनी गाउँपालिका–५ को वडा कार्यालयको सम्पर्क कार्यालय बरालुङवेसीमा स्थापना गरिएको छ । सङ्घीय शासन प्रणाली अन्तर्गत सेवा प्रवाहलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सशक्त र जनमुखी बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

    उक्त वडाको प्रमुख कार्यालय सानोभञ्ज्याङमा रहेकाले बरालुङवेसी र वरपरका बस्तीहरुका सर्वसाधारणलाई वडा कार्यालयसम्म पुग्न समय लाग्ने भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको उनको भनाइ छ ।

    आँबुखैरेनी गाउँपालिका–६ को सम्पर्क कार्यालय केही समय अगाडी प्युघरफाँटमा स्थापना गरिएको थियो । प्युघरफाँटमा सेवा कार्यालय विस्तार गरी सर्वसाधारणलाई सेवा दिन थालिएपछि सहज भएको छ ।

    वडा नम्बर ६ का सर्वसाधारणलाई घण्टौ पैदल तथा महङ्गो गाडी भाडा तिरेर सेवा लिन वडा कार्यालय आउनुपर्ने समस्याको अन्त्य गर्न पालिकाले प्युघरमा सेवा केन्द्र विस्तार गरेको वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए । सेवा केन्द्रमा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु दिइएको छ ।

    हप्तामा दुई दिन उक्त सेवा कार्यालयबाट जनताले सेवा पाउने वडाध्यक्ष गुरुङले जानकारी दिए । त्यस भेगका जनतालाई वडा कार्यालयको केन्द्र हिलेखर्क जान समस्या भएपछि सहजताका लागि सेवा कार्यालय विस्तार गरिएको उनको भनाइ छ ।

    उनले भने, “यस भेगका जनतालाई वडा कार्यालयको केन्द्रसम्म पुग्न एक दिनको समय छुट्याउनुपर्ने बाध्यता थियो । अब सेवा कार्यालयबाटै सहज रुपमा जनताले सेवा पाउनेछन् ।”