किसानले उत्पादन गरेका फापरको बजारीकरण गाउँपालिकाले गरिदिने, तीन गुणा रकम पाउँदा खुसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    किसानले उत्पादन गरेका फापरको बजारीकरण गाउँपालिकाले गरिदिने, तीन गुणा रकम पाउँदा खुसी

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०८२, मंगलवार

    दमौली, २३ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्युघरका सेती गुरुङले विगतका वर्षहरुमा प्रति केजी रु ६० मा फापर विक्री गर्थिन् । गाउँमै आएर विचौलियाले प्रति किलो रु ६० दिएर फापर लैजान्थ्यो । तर अहिले गुरुङले प्रति किलो रु एक सय ५० प्राप्त गरिन् ।

    “यो वर्ष गाउँपालिकाले नै खरिद गरिदियो, विगतको तुलनामा करिब तीन गुणा पैसा पायौ,” गुरुङले भनिन्, “जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौ भनेर भन्नुभएको छ । यसले हामीलाई हौसला मिलेको छ ।”

    सोही ठाउँका मिलन गुरुङले फापर उत्पादनपश्चात् विक्रीको समस्या नरहेको सुनाए । “गाउँपालिकाले नै खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरित गरेको छ,” उनले भने ।

    ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गाउँपालिकाले गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । विगतमा यहाँका कृषकले विचौलियामार्फत् प्रति किलो रु ६० मा फापर विक्री गर्दै आएकामा गाउँपालिकाले हाटबजारमार्फत् प्रति किलो रु एक सय ५० मा विक्री गरिदिएको उनको भनाइ छ ।

    उनले भने, “यसले गर्दा कृषकले विचौलियालाई विक्री गर्नुपरेन । कृषकले पनि विगतको भन्दा राम्रो पैसा पाउनुभयो ।” केसीले कृषककै बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिदिएको केसीले बताए ।

    गाउँपालिकाले यस ठाउँका नौ जना कृषकले उत्पादन गरेको छ सय ५० किलो फापर हाटबजारमार्फत् विक्री गरिदिएको छ । उक्त फापर रु एक सय ५० प्रति किलोमा विक्री गरेर रु ९७ हजार पाँच सय कृषकलाई हस्तान्तरण गरिएको केसीले बताए । उनका अनुसार यस ठाउँका मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ, प्रकाश गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

    उक्त वडाका प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्क लगायतका क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने गरेको अनुमान छ । आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने केसीको भनाइ छ । उनले भने, “आगामी वर्ष फपार उत्पादन हुने गाउँमा फापर कुट्ने उपकरण उपलब्ध गराइ फापरको पिठो नै गाउँपालिकाले खरिद गर्ने योजना अगाडी बढाएको छ ।”

    ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रुपमा बजारीकरणको व्यवस्था गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।