मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा असारभित्रै कालोपत्र सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डमा असारभित्रै कालोपत्र सकिने

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८२, बुधबार

    दमौली, ३१ वैशाख। मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ ।

    आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार व्यास नगरपालिकाको दमौली बजारको एक किलोमिटर ८०० मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार नजिक ३०० मिटर र सोही गाउँपालिकाको विमलनगरमा ७०० मिटर खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।

    दमौली बजारअन्तर्गत बागबजार र मुख्यचोकमा एकतर्फी कालोपत्र भइसकेको छ । अर्कोतर्फ कालोपत्रका लागि पूर्वतयारीका काम जारी छ । त्यस क्षेत्रमा कालोपत्रका लागि काम भइरहेको छ । पूर्वी खण्डका कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ ।

    पाण्डले भने, “तेस्रो पटक थप भएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।” पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

    विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।