दमाैली, १ जेठ । बिहीबार साँझ आएको हावाहुरी र वर्षाले जिल्लाका विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत अवरुद्ध भएको छ । हावाहुरीका कारण धेरै स्थानमा रुख तथा घरका छतका टिन उडाएर पोल ढलेपछि विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।
केन्द्र प्रमुख विजयराज रेग्मीले हावाहुरीका कारण पोल ढलेपछि म्याग्दे गाउँपालिका–३ स्थित धयरे, म्याग्दे गाउँपालिका–२ जामुने र म्याग्दे गाउँपालिका–४ थर्पु क्षेत्रमा विद्युत अवरुद्ध भएको जानकारी दिए । उनले भने, “ग्रामीण भेगमा समेत तारहरु छिनेको र जोखिम भएकाले लाइन नछाड्न फोनबाट जानकारी आइरहेको छ । भोलिमात्रै मर्मत गरी विद्युत सुचारु गरिनेछ ।”
ग्रामीण भेगमा तारहरु छिनेर ट्रान्सफर्मरबाट फ्युज गएका कारण सेवा अवरुद्ध भएको हुन सक्ने रेग्मीले बताए । साँझपख हावाहुरी रोकिएतापनि ढल्केवर सवस्टेशनबाट विद्युत आयातमा समस्या उत्पन्न भएकाले देशैभरको विद्युत सेवामा समस्या आउँदा तनहुँमा पनि विद्युत सेवामा समस्या भएको रेग्मीको भनाइ छ ।