बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

    खबरपुञ्ज संवाददाता

    ३ जेष्ठ २०८२, शनिबार

    दमौली, ३ जेठ । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।

    रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो । पुल निर्माणका लागि सङ्घ सरकारबाट रु एक करोड ३५ लाख सहयोग भएको थियो भने बाँकी रकम नगरपालिकाको स्रोत रहेको नगरपालिकाका सहायक प्रशासकीय अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

    विसं २०८० फागुन २३ गते सम्झौता पुलको काम वैशाख २२ गते सम्पन्न भएको थियो । विसं २०८२ भदौ ३० गतेसम्म पुल सम्पन्न गर्ने म्याद रहेको छ । पच्चीस मिटर लामो पुल सिङ्गल स्पान प्रविधिको हो । ज्वालामुखी कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको हो ।

    पुल निर्माणपश्चात् दुई वडाका सर्वसाधारण लाभान्वित हुनेछन् । पक्की पुल निर्माण भएको स्थानमा यसअघि ह्युमपाइप कल्र्भट राखेर यातायात सञ्चालन भइरहेको थियो । बर्सातको समयमा बुल्दीखोलामा बाढी आउँदा उक्त कल्भर्टले पानीको बहावलाई रोक्दा वरपरको स्थानमा डुबान हुने गरेको थियो । जसका कारण आसपासका घर जोखिममा परेको र बसपार्क जान समेत समस्या हुँदै आएकामा अब भने सहज हुने भएको छ ।

    यसैबीच निर्माण सम्पन्न भएको पुलको शुक्रबार सार्वजनिक परीक्षण गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा तेस्रो पक्ष मूल्याङ्कन, स्थलगत अनुगमन तथा सार्वजनिक परीक्षण गरिएको हो ।

    उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा नगरपालिका अनुगमन तथा मूल्याङ्कन समितिबाट पुलको अनुगमन हुनुका साथै पूर्वाधार विकास कार्यालय तनहुँका इञ्जिनियर विजय थापाको पुलको पुनः मूल्याङ्कन गर्ने काम गरिएको छ । –––