दमौली, १३ जेठ । जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनस्थापनाका लागि रु एक करोड अनुदान रकम वितरण गरेको छ ।
कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।
पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयबाट ४४ लाख ५० हजार र विपद् पुनःनिर्माण र पुनःस्थापना मार्फत् ६५ लाख ५० हजार स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिए ।