दमाैली, १५ जेठ । गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने तनहुँको दमौलीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्लास्तरीय समारोह समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले गणतन्त्रको विकल्प गणतन्त्र नै भएकामा जोड दिइएको छ ।
संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले गणतन्त्रको विकल्प अन्य व्यवस्था नभएकाले गणतन्त्रलाई सुदृढ बनाएर जानुको विकल्प नभएको बताए । पोख्रेलले वर्तमान अवस्थामा जनतामा निराशा छाएको बताउँदै जनताका प्रतिनिधिले आफ्ना आचरण र व्यवहार सुधार गर्नुपर्ने बताए ।
पूर्व प्रतिनिधि सभा सदस्य केदार सिग्देलले गणतन्त्रमाथि धावा बोल्ने कोशिस कसैले नगर्न चेतावनी दिए । गणतन्त्रको विकल्प गणतन्त्र मात्रै भएको बताउँदै सिग्देलले गणतन्त्र रक्षाका लागि गणतन्त्रवादी एकजुट हुनुपर्ने बताए । वर्तमान व्यवस्था सञ्चालनप्रति केही कमजोरी भएको स्वीकार गर्दै सिग्देलले त्यसको अर्थ यसको विकल्प खोज्न नहुने बताए ।
पूर्व प्रतिनिधिसभा सदस्य कलिला खानले रगत र पसिनाबाट प्राप्त गणतान्त्रिक व्यवस्था उल्टिन नसक्ने उल्लेख गरिन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले गणतन्त्र आम मानिसको सर्वस्वीकार्य बनिसकेको बताउँदै गणतन्त्रको विकास र संरक्षण गर्ने जिम्मेवारी गणतन्त्रवादीको भएको बताए ।
गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विश्वकर्माले जनताका निराशालाई सम्बोधन गर्दै वर्तमान व्यवस्था सुदृढ बनाउनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष विश्व बास्तोलाले जनप्रतिनिधिको शासन र व्यवहारले जनतामा निराशा छाएकाले जनप्रतिनिधिले व्यवहार परिवर्तन गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्याैपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ लगायतले गणतन्त्रका विषयमा धारणा राखेका थिए ।