भिजिट भिसा प्रकरणमा कांग्रेस-एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भिजिट भिसा प्रकरणमा कांग्रेस-एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    काठमाडाै, ३० जेठ । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

    प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार शुक्रबार सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

    कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

    भिजिट भिसा प्रकरणमा सुरूमा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा र एकीकृत समाजवादीलगायत गृहमन्त्री रमेश लेखकको राजीनामा र जाँचबुझ आयोग वा संसदीय छानबिन समिति गठनका पक्षमा थिए।

    तर कांग्रेस र एमाले ती विषयमा सकारात्मक नहुँदा माओवादी र एकीकृत समाजवादी भने नरम भएका थिए।

    कांग्रेस-एमाले र माओवादीबीच भएको सहमतिको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उल्लेख छ।

    दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यद्यपि यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।

    अध्यागमनमा देखिएका नीतिगत, संरचनागत र कानुनी समस्याहरूलाई अध्ययन छानबिन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गर्ने कुरा सहमतिको बुँदामा समावेश छ।  भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन त हुनेछ तर त्यसका लागि न जाँचबुझ आयोग बन्नेछ न संसदीय समिति। छानबिन गर्न सरकारले नै संरचना बनाउनेछ।  कांग्रेस-एमाले र माओवादीबीच बिहीबार नै यो दुई बुँदामा सहमति बने पनि हस्ताक्षर भएको थिएन। (सेताेपाटी)