आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    दमौली, ३ असार । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

    यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको हो । यहाँ कृत्रिम ताल, पैदलमार्ग, दृश्यावलोकन केन्द्र, ट्रिहाउसलगायत संरचना निर्माण गरिएको छ । आँधीमूललाई सौन्दर्यकरणका लागि रु एक करोड ५० लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले यहाँ मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माण गरिएको बताए ।

    उनले भने, “ताल निर्माण सकिएको छ । तालमा डुङ्गा शयर गर्न मिल्नेगरी व्यवस्थापन गरेका छौँ ।” आँधीमूलमा प्रसिद्ध मन्दिर रहेकाले धार्मिक पर्यटनलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाइ छ । उनले भने, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटक आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर पर्यटन प्रवर्द्धनको प्रयास थालेका हौँ ।”

    यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै अध्यक्ष चुमानले ताल निर्माणपश्चात् पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको बताए । उनले भने, “यहाँ अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँदै जानेछौँ । तालबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।”

    उनका अनुसार विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने योजना बनाइएको छ ।

    आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका उनले बताए ।