म्याग्दे गाउँपालिकाले बनाइदियो ४८ विपन्न नागरिकलाई घर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाले बनाइदियो ४८ विपन्न नागरिकलाई घर

    खबरपुञ्ज संवाददाता

    २ असार २०८२, मंगलवार

    दमौली, ३ असार । तनहुँको म्याग्दे गाउँपालिकाले ४८ विपन्न नागरिकलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका सात वटै वडामा बसोबास गर्ने विपन्न नागरिकलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

    आर्थिक विपन्नलाई नमूना आवास कार्यक्रम २०८० कार्यविधि अनुसार पालिकाभित्रका विपन्न छनोट गरी ४८ घर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    जसअनुसार आर्थिक वर्ष २०८०÷८१ मा १६ र चालु आर्थिक वर्ष २०८१÷८२ मा ३२ घर निर्माण गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा वडा नम्बर १ मा तीन, २ मा दुई, ३ मा दुई, ४ मा तीन, ५ मा दुई, ६ मा दुई र वडा नम्बर ७ मा दुई घर निर्माण गरिएको छ । उक्त आर्थिक वर्षमा निर्माण भएका घरको मूल्य प्रति घर रु पाँच लाख नौ हजार रहेको अधिकारीले बताए ।

    चालु आर्थिक वर्ष २०८१÷८२ मा वडा नम्बर १ मा चार, २ मा पाँच, ३ मा चार, ४ मा पाँच, ५ मा चार, ६ मा चार र वडा नम्बर ७ मा छ वटा घर निर्माण गरिएको छ । जसको लागत मूल्य प्रति घर रु आठ लाख ५० हजार रहेको छ ।

    गाउँपालिकाभित्रका विपन्न नागरिकलाई आफ्नै घरमा बसोबास गराउने उद्धेश्यसहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

    घर निर्माण गर्न लाभग्राही छनोटका लागि पालिकाले जग्गाधनी प्रमाणपूर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस सहित आवश्यक कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेश गर्न सूचित गरेको थियो ।

    कार्यविधि बमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्ड बनाइएको थियो । अपाङ्गता भएका व्यक्ति, असहाय, सीमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको जनाइएको छ ।