दमौली, १६ असार । नेपाल विद्यार्थी संघ तनहुँका नेता सोन आले मगरले संघको अधिवेशनको माग गरेका छन् । आलेले विसं २०८१ फागुन २७ गतेको सम्झौता अनुसार यथासिघ्र चाँडो जिल्ला अधिवेशनको लागि मिति तय गरी नयाँ नेतृत्वको चयन प्रकृया अगाडी बढाउन माग गरेका हुन् ।
तनहुँ जिल्लामा विगतका ११/१२ वर्षदेखि नेविसंघको चुनाव नभएको र संस्थामा नेतृत्व गर्ने क्षमतावान नेतृत्वको कमीले गर्दा नेविसंघको गरिमा दिनानुदिन खस्कदै गएको आभाष भएको उनले उल्लेख गरे । उनले भने, ‘विद्यार्थी आन्दोलनबाट स्थापित भएको संस्था चलायमान गराउनका लागि संस्थालाई समयमा नै अधिवेशन गराई आन्दोलनको उपलब्धीहरुलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको समयमा केही सानो झुण्डलाई नेविसंघको नेतृत्वको ठानी मनोमानी रुपमा अगाडी बढेको कारण यथाशीघ्र अधिवेशन हुनुपर्छ ।’
नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको नर्सरी मात्रै नभएर नेपाली काङ्ग्रेसलाई आवश्यकता पर्दा हातमा हात र काँधमा काँध दिने संस्था पनि भएको उनको भनाइ छ ।