


काठमाडाै, २१ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद गंगाराम चौधरीले जानकारी दिए ।
‘सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको छ’, सांसद चौधरीले भने, ‘पार्टीको तर्फबाट सरकारमा सहभागी राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ । उहाँले भोलि आइतबार राजीनामा दिनुहुन्छ ।’
सांसद चौधरीले समर्थन फिर्ता लिइएकोबारे आइतबार नै संसद्लाई जानकारी गराइने बताए । ओली नेतृत्वको सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।
प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष असारमा कांग्रेस, नाउपा लगायतका दलको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।