


दमाैली, २३ असार । व्यास नगरपालिकाका लेखा अधिकृत अर्जुन बरालले नगरस्तरीय औषधि खरिदमा अनियमितता देखिएपछि भुक्तानी रोक्दा उल्टै आरोप आएको गुनासो गरेका छन् । स्वास्थ्य शाखाका कर्मचारीले पूरा औषधि नै खरिद नगरी पूरै औषधि किनेको दावी गर्दै भुक्तानीका लागि लेखामा पठाउँदा लेखा अधिकृत बरालले शङ्का लागेर जाँच गर्दा औषधि खरिद नगरेको भेटिएको थियो ।
औषधि खरिद प्रकरणमा गल्ती सार्वजनिक भएसँगै आफूमाथि अनावश्यक आरोप लगाउने काम भएको उनको भनाइ छ । उनले भने, “आधा मात्रै औषधि ल्याएर पूरै औषधि आइसकेको भनेर भुक्तानीका लागि आएको थियो । केही शङ्का महशुस गरी औषधिको पुष्टि गर्न खोज्दा औषधिको पूर्ण मात्रा खरिद भएको थिएन । अस्पतालमा आधा मात्रै औषधि आएको रहेछ ।”
औषधि पूरा नआएपछि भुक्तानी रोकिँिदँदा स्वास्थ्यका दुई कर्मचारीले अहिले उल्टै आफूमाथि आरोप लगाएको बरालको गुनासो छ ।
स्वास्थ्य शाखाबाट रु दश लाख बराबरको औषधि खरिद भइसकेको, सामग्री अस्पतालमा आइसकेको र भुक्तानी दिनुपर्ने भनिएको थियो । भुक्तानीका लागि फाइल तयार गरी प्रमुख प्रशासकीय अधिकृत समेतबाट भुक्तानी आदेश भइ लेखा शाखामा रकम निकासाका लागि पेश गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले उक्त घटना सम्बन्धमा छलफल भइरहेको बताए ।