


काठमाडाै, १ साउन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग कुनै परामर्श नगरी राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीबारे पार्टीले छिट्टै निर्णय लिने बताएका छन् ।
पत्रकार विजयकुमार पाण्डेसँग ‘दिशानिर्देश’ कार्यक्रममा बोल्दै ओलीले औपचारिक परामर्श संवाद नगरी राजनीतिमा आएकी भण्डारीबारे छिट्टै औपचारिक निर्णय लिने प्रस्ट्याएका हुन् ।
‘विद्याजीको हकमा कहाँ कहाँ परामर्श गर्नुभयो ? कतै त गर्नुभयो होला । तर, मसँचाहिँ परामर्श भएन । पार्टीको अध्यक्ष म छु, अध्यक्षता गरिरहेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु , कसरी काम गरौं, मलाई सक्रिय राजनीतिमा आउन मन छ, आउन मिल्छ मिल्दैन । आउँ नआउँ ? देशलाई फाइदा हुन्छ कि हुँदैन,’ ओलीले भने, ‘संवैधानिक प्रक्रिया कस्तो हुन्छ ? अथवा प्रणालीगत अवस्था कस्तो हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले सक्रिय राजनीतिमा आउँदा सिंगो देशको सर्वमान्यबाट दल विशेषमा आउँदा यी कुनै विषयमा विचार विमर्श अन्तर्राष्ट्रिय अभ्यास के छ ? ती कुरामा विचार विमर्श गरौं भनेर भएन ।’
एकातिर राजावादी उफ्रिने अर्कोतिर आफ्नै दलले निर्णय गरेर पठाएको व्यक्तिले हठात् राजनीतिमा सक्रिय हुन खोजेको भन्दै ओलीले उचित निर्णय लिने बताएका हुन् ।
‘राजतन्त्र पक्षधर उफ्रिरहेका छन् गणतन्त्र फाल्छु भनेर । अरुसँग थाहा छैन मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक सरसल्लाह भएन । पार्टीमा लिखित मौखिक केही भएन । यसैले पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्छ,’ ओलीले भने, ‘उहाँ आफ्नै हिसाबले राष्ट्रपति हुनु भएको हैन । उहाँ हामीले उम्मेदवार बनाएपछि राष्ट्रपति हुनुभएको हो । पार्टी छोड्नु भएर जानुभएको हो ।’
सम्मानित व्यक्तिले प्रश्न उठाउने काम गरेको भन्दै ओलीले छिट्टै विद्याबारे निर्णय लिने बताए ।
‘निर्णय त गर्नैपर्छ । प्रश्न उठाएपछि आएपछि निर्णय गर्छौं । उहाँ राजनीतिमा आउने कुराले गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा, उहाँकै जीवनमा के असर पर्छ ? उहाँलाई दिनुपर्ने सुझाव र निर्णय पार्टीले गर्छ । हेर्छौं, सल्लाह गर्छौं । उहाँले आफैंले विचार गर्नुपर्छ,’ ओलीले भनेका छन्, ‘हामीले पनि जानकारी प्राप्त गरेका छौं । सार्वजनिक रूपमा बोलेका कुरा के हुन् ? उहाँसँग सोध्नुपर्छ । धेरै ढिलो नगरी निर्णय गर्छौं ।’
अघिल्लो राष्ट्रपति डा. रामवरण यादवले थिति बसाए पनि विद्याले त्यस्तो नगरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘अघिल्लो राष्ट्रपतिजी रामवरणले यो थिति बसाएको देखिन्छ । नैतिक मूल्यमा आधारित भएर थिति बसाउनु भयो,’ ओलीले भनेका छन्, ‘विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।’
भण्डारीले राष्ट्रपति हुँदा राम्रो काम गरे पनि अहिले मर्यादा भुल्न खोजेको ओलीको भनाइ छ ।
‘विद्याजीले राष्ट्रपति छँदासम्म संविधानको रक्षक र पालकको भूमिकामा राम्रो काम गर्नुभयो । राष्ट्रपति सेनाको परमाधिपति हो । सबैको साझा पनि हो,’ ओलीले भने, ‘यसैले टिकाटिप्पणीबाट माथि रहनुपर्छ । टिकाटिप्पणीमा ओर्लनु बाञ्छनीय देखिँदैन ।’
ओलीले विद्याका लागि राजनीतिमा फर्किनु संवैधानिक र कानूनी प्रश्न नभएपनि नैतिक प्रश्न भएको बताए ।
‘यो संवैधानिक प्रश्न होइन, कानूनी प्रश्न होइन । यो नैतिकतको प्रश्न हो । नैतिक मूल्यमा आधारित भएर बसाउनुपर्ने थिति हो’ ओलीले भनेका छन् ।