अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न तीन जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न तीन जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    पाेखरा, १२ साउन । अवैध रूपमा विदेशी बिनिमय कारोबारमा संलग्न रहेको अभियोगमा तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजार ठेगाना भएका ४५ वर्षीय महुमुद्दिन एम अहमद, कास्की पोखरा महानगरपालिका-६ बैदाम बस्ने झापा दमक नगरपालिका-४ ठेगाना भएका ४५ वर्षीय राजकुमार बुढाथोकी र कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर ठेगाना भएका ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । 

    पोखरा महानगरपालिका-१७ पार्दी बिरौटामा अवैध रूपमा विदेशी बिनिमय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रूपैयाँ बरामद भएको छ । 

    प्रारम्भिक अनुसन्धानको क्रममा महुमुद्दिनले रूपन्देही तथा कास्की जिल्लामा रेष्टुरेण्ट व्यवसाय संचालन गरी नेपाली रूपैयाँसँग विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने, राजकुमारले विगत २० वर्ष देखि सेन्टर प्वाईन्ट लेक साइडमा हिलारी मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने र खेमराजले विगत १४ वर्ष देखि स्ट्रिट नम्बर १४ लेक साइडमा सगरमाथा मनी एक्सचेन्ज नामक कम्पनी संचालन गरी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गरेको खुल्न आएको छ ।

    उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।