


पोखरा, १२ साउन । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायू परिवारका १६ जना नै पोखरामा भेटिएका छन् । सोमबार साँझ पोखरा–३०, गगनगौँडाका दुई ठाउँमा सबैजना भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । अहिले सिन्धुली प्रहरीले पठाएको नाम रुजु गर्ने काम भैरहेको उनले जानकारी दिए ।
उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडास्थित चन्द्र भण्डारीको घरमा बसेका थिए । १८ जनाको परिवारका दुईजना भने काठमाडौं रहेको खुलेको थियो । परिवारको माइली छोरी सुजता हायू सोमबार सम्पर्कमा आएकी थिइन् ।