


दमाैली, २२ साउन । तनहुँ जिल्लामा एक वर्षको अवधिमा नौ हजार पाँच सय बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका दश वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा नौ हजार पाँच सय ५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
पछिल्लो केही वर्ष यता जिल्लामा कृत्रिम गर्भाधानप्रति कृषकको आकर्षण बढ्दो छ । आर्थिक वर्ष २०८०÷८१ मा आठ हजार एक सय १३ र आर्थिक वर्ष २०७९÷८० मा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।
केन्द्र प्रमुख रविनसन अधिकारीले नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको बताए । पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने अधिकारीको भनाइ छ ।
कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्न नपर्ने उनले उल्लेख गरे ।
जिल्लामा गाईमा बढी कृत्रिम गर्भाधान गरिएको छ । एक वर्षको अवधिमा पाँच हजार ३७ गाई, चार हजार चार सय १७ भैंसी, ७६ बाख्रा, २२ बङ्गरमा कृत्रिम गर्भाधान गरिएको केन्द्रले जनाएको छ ।
अधिकारीका अनुसार भेटेरीनरी अस्पताल गर्भाधान केन्द्रबाट दुई हजार ८५, व्यास नगरपालिकाबाट तीन सय ४५, भानु नगरपालिकाबाट छ सय ८८, भिमाद नगरपालिकाबाट छ सय छ, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार नौ सय ६१, बन्दीपुर गाउँपालिकाबाट एक हजार दुई सय २२, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन सय ४९, म्याग्दे गाउँपालिकाबाट छ सय १९, देवघाट गाउँपालिकाबाट छ सय ६५ र ऋषिङ गाउँपालिकाबाट १२ पशुको कृत्रिम गर्भाधान गरिएको छ । घिरिङ गाउँपालिकामा भने कृत्रिम गर्भाधान केन्द्र छैन ।
तीन हजार बढी पशुको उपचार
केन्द्रले एक वर्षको अवधिमा तनहुँ सहित छिमेकी जिल्लाबाट समेत गरी तीन हजार छ सय ९० पशुको उपचार गरेको छ । केन्द्रमा तनहुँका अतिरिक्त गोरखा, लमजुङ, कास्कीबाट समेत कृषकले बिरामी पशुको उपचारका लागि ल्याएका थिए ।
आँबुखैरेनीका एक, बन्दीपुरका ७५, भानुका ६२, देवघाटका पाँच, भिमादका सात, व्यासका तीन हजार ९९, म्याग्देका दुई सय ४९, ऋषिङका एक सय ३५, शुक्लागण्डकीका आठ, कास्कीका एक, गोरखाका तीन, लमजुङका ४४ र गोरखाका एक पशुको उपचार गरिएको छ ।
जिल्लामा गाई र भैसीपालनको सङ्ख्या घटेको र बाख्रापालनको सङ्ख्या बढेको छ । एक वर्षमा गाईपालन दुई हजार चार सय ८२, भैंसीपालन दुई हजार आठ सय ८३ ले घटेको केन्द्रले जनाएको छ । त्यस्तै बाख्रापालन चार सय तीनले बढेको छ ।