


चितवन, ७ असाेज । मुग्लिन–नारायणगढ सडक फेरि दुईतर्फी अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक आवागमन दुवैतर्फ बन्द भएको सडक डिभिजन भरतपुरले जनाएकोछ ।
निरन्तर माथिबाट ढुंगा खसिरहेकाले उपकरण सञ्चालन गरेर पहिराे हटाउन पनि समस्या भइरहेको डिभिजनले जनाएको छ ।
यसअघि, गत शुक्रबार (असोज ३) साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो । त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो ।
तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन । जसका कारण दसैँ मनाउन घर हिँडेका हजारौँ यात्री मर्कामा परेका छन् ।