


काठमाडौ, १२ असोज । जेन जी विद्रोहपछि पहिलो पटक बसेको नेकपा (एमाले) को सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बसेको सचिवालय बैठकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ ले आज आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरिएको र दसैंको मौका छोपेर प्रतिशोध साँधिएको एमालेले ठहर गरेको छ।
‘दसैंको मौका पारेर गरिएको राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ। यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,’ एमालेले भनेको छ।