मानुङकोटमा पर्यटकको चहलपहल सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकोटमा पर्यटकको चहलपहल सुरु

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८२, बिहीबार

    दमौली, ६ कात्तिक । चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।   
      
    तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीका सोमबहादुर नेपालीले बताए ।   
      
    बन्दीपुर गाउँपालिका–२ का सुदिन पौडेलले दमौली बजारलाई कुहिरोले धपक्क छोपेको दृश्यले लोभ्याउने बताए ।

    विगत एक सातादेखि मानुङकोटमा पर्यटकको चाप बढेको व्यवसायी बताउँछन् । पर्यटकहरु अघिल्लो दिन बास बसेर सूर्योदय र कुहिरो हेर्ने गर्छन् ।   
      
    मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यवलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।   
      
    मानुङकोटबाट धौलागिरी, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।   
      
    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।   
      
    मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ । —