


काठमाडाै, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् प्रतिनिध सभाका निवर्तमान सांसद किसानकुमार श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपाल राजनीतिक रूपमा भ्रष्ट रहेको आरोप लगाएका छन्। माओवादी केन्द्रसँग पार्टी एकताको तयारी गरिरहँदासमेत पार्टी कमिटीलाई आफ्नो पक्षमा पार्न मनोनीत गरिरहेका भन्दै त्यसप्रति आपत्ति रहेको बताएका हुन्।
‘अध्यक्ष माधवकुमार नेपाल आर्थिक रूपमा भ्रष्टाचारी छैनन् जस्तो लाग्छ। म ठोकुवा गर्न सक्दिनँ तर राजनीतिक भ्रष्टाचारी चाहिँ हो मेरो पार्टी अध्यक्ष,’ उनले भने।
२०७८ सालमा नेकपा (एमाले) बाट विद्रोह रहेको र त्यसलाई स्वर्ण अक्षरले लेख्ने भनेर कलम चिह्न लिएर हिँडेको बताए। ‘आज कलमको निब होइन, कलम नै भाँच्न खोज्दै हुनुहुन्छ माधवकुमार नेपालले। केपी ओलीको दम्भ, तानाशाही चरित्र, एकांगी पारा ठीक भएन भनेर हामीले विद्रोह गर्यौं। केपी ओलीको बाबु होइन, हजुबाबु पो रहेछन् माधवकुमार नेपाल!,’ उनले भने, ‘चाकडी गर्ने सचिवालयमा परेका छन्।
चुनाव हारेकाहरूको सचिवालयमा बोलवाला छ। चुनाव हारेकाजति सबैलाईस्थायी कमिटीमा लगेको छ। पोलिटब्युरो र केन्द्रीय सदस्यमा मनोनीत अहिले पनि गरिरहेको छ। यसप्रति मेरो घोर आपत्ति छ। माओवादीसँग एकता गर्ने बेला किन मनोनीत गर्नुप¥यो? यसको अर्थ के छ?’
उनले एकता प्रक्रियामा जाने, नजाने निर्णय नगरेको बताए। केन्द्रीय कमिटीमा एकताबारे छलफल नै रहेकाले निर्णय गरिनसकेको बताए।
‘एकताको प्रक्रियामा जाने नजाने मेरो कुरा हो। साथीहरूसँग छलफल गर्दैछु। एकता प्रक्रियाको टुंगो लागिसकेको छैन। केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ,’ उनले भने।
जेनजीको आन्दोलनको मर्मअनुसार पार्टीको नेतृत्व फेर्न अपरिहार्य रहेको तर फेर्न सक्ने स्थिति नरहेको बताए।
‘न एकीकृत समाजवादीमा नेतृत्व फेर्न सकिने स्थिति छ। न माओवादी, एमाले, न कांग्रेसमा नै फेर्न सकिहाल्ने स्थिति छ। कतै पनि हामीले फेर्न सक्ने स्थिति छैन। अहिले आम जनताकै चाहना छ– यी म्याद गुज्रिएका नेता बदलियून्। भाषण गरेर हुँदैन, भाकल गरेर पनि हुँदैन,’ उनले भने। (सेताेपाटीबाट)