


दमौली, २८ कात्तिक । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौलीस्थित मुख्यचोकमा दुई ठाउँमा जेब्राक्रस बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा केही दिन अगाडी बसेको सर्वपक्षीय बैठकले सुरक्षाका हिसाबले जहॉ उपयुक्त हुन्छ त्यहीं जेब्राक्रस बनाउने निर्णय भएको हो ।
बैठकमा व्यास नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास-२,३ र ४ का वडाध्यक्ष, तनहुँ उद्योग वाणिज्य संघका प्रतिनिधि, सडक आयोजना, निर्माण व्यवसायी, परामर्शदाताको बैठकले भोर्लेटारचोकदेखि दुर्गामन्दिरसम्मको ठाउँमा दुई ठाउँमा जेब्राक्रस बनाउने सहमति भएको छ ।
जसअनुसार भोर्लेटारचोकदेखि कालिकामार्गसम्मको बीचभागमा एक ठाउँमा र सफासडक चोकदेखि दुर्गा मन्दिरसम्मको बीचमा एक ठाउँमा जेब्राक्रस बनाउने तयारी गरिएको छ ।
सोही बमोजिम दुवै ठाउँका सर्भिसलेनतर्फका डिभाइडर निकालिएको छ । भोर्लेटारचोक र कालिकामार्गको बीचमा शुक्रबार जेब्राक्रस बनाउने तयारी गरिएपनि केही व्यक्तिले अवरोध गरेका छन् । उनीहरुले भोर्लेटारचोकमै जेब्राक्रस बनाउनुपर्ने माग गरेका छन् । तर त्यहॉ घुमाउरो बाटो रहेकाले सुरक्षाका हिसाबले जेब्राक्रस बनाउन नमिल्ने सडक आयोजनाले जनाएको छ ।
