


दमौली, २७ मंसिर । म्याग्दे गाउँपालिका-६ स्थित अकला आधारभूत विद्यालय छबिसेका ४८ जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरिएको छ।
म्याग्दे गाउँपालिका-४ निवासी कृष्णकुमार श्रेष्ठ र विष्णुमाया श्रेष्ठका छोरा–बुहारी महेश श्रेष्ठ र सोनाम श्रेष्ठ (हाल दुबई) को तर्फबाट दुबईस्थित युवा व्यवसायी तथा एम.टी–८८४८ र माउन्ट एभरेष्ट रेष्टुरेन्टका सञ्चालक द्वयले उक्त सहयोग उपलब्ध गराएका हुन्। विद्यालयको नाम अंकित न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोगी दाताका बुवा–आमाबाट विद्यालयमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी थापा, अभिभावक–शिक्षक संघका अध्यक्ष हरिप्रसाद वाग्ले तथा प्रधानाध्यापक नवराज अर्यालले सहयोगी दाताको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रम सफल बनाउन विद्यालय र सहयोगी दाताबीच समन्वयकारी भूमिका नुक्त भुजेलले निर्वाह गरेका थिए। एनआरएन दुबईकी निवर्तमान महिला उपाध्यक्ष तथा हाल मध्यपूर्व उपसंयोजक सोनाम श्रेष्ठले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
उक्त अवसरमा विद्यालयद्वारा सहयोगी दाताका बुवा–आमालाई सम्मानसमेत गरिएको थियो ।
