


दमौली, ५ पुस । बिहानको घाम व्यास नगरपालिका–८, बर्लाचीकाे सानो आँगनमा पर्दा, त्यही आँगनको एक कुनामा दाम्लोले बाँधिएको २६ वर्षीय झलक विक शान्त बसिरहेका हुन्छन्। उनी बोल्दैनन्, हिँड्दैनन्, तर उनको मौनतामा एउटा गहिरो पीडा लुकेको छ, जीवनभरको।
झलक जन्मजात बहुअपाङ्गता भएका युवा हुन्। उनका हात–खुट्टा उनको नियन्त्रणमा छैनन्। कहिले जताततै घिस्रेर हिँड्छन्, कहिले अनियन्त्रित रूपमा दिसापिसाब कपडामै हुन्छ। यही डरले, यही बाध्यताले उनकी आमा कालिमाया विकले उनलाई घरमै दाम्लोले बाँधेर राख्नुपरेको छ।
“छोरालाई यसरी बाँधेर राख्दा मेरो मुटु टुक्रिन्छ,” उनी भन्छिन्, “तर नबाँध्दा ऊ दुर्घटनामा पर्न सक्छ। आमाले रोजेको होइन, परिस्थितिले बाध्यता बनायाे।”
झलक चार वर्षका हुँदा कालिमायाको संसार नै भत्कियो। श्रीमान् गुमे। त्यसपछि उनी एक्लै आमाबाबु दुवै बनिन्। अपाङ्गता भएका छोराको हेरचाह, उपचार, अनि घरखर्च—सबै बोझ एउटै काँधमा पर्यो। धेरै ढोका ढकढक्याइन्, धेरै आशा बोकेर निकाय–निकाय धाइन्। तर उनले पाएको भने आश्वासन र सहानुभूति मात्र।
रिसेड तनहुँले ह्विलचेयर दियाे। आशा पलायो। तर त्यो पनि झलकको शरीरले स्वीकार गर्न सकेन। चढाउन–झार्न नसकिने, लड्ने डर झनै बढी। अहिले त्यो ह्विलचेयर घरको कुनामा मौन छ, अपूर्ण सहयोगको प्रतीकझैँ।
कालिमायाको माग ठूलो छैन। उनले राज्यसँग महल मागेकी छैनन्। उनी भन्छिन्, “छोरालाई बाँध्न नपर्ने एउटा कोठा चाहिएको हो।” घाम लाग्ने सानो बरान्डा, सुत्न मिल्ने सुरक्षित ठाउँ र शौचालय—यत्ति भए उनको मनले शान्ति पाउँथ्यो।
झलकको दाम्लोले बाँधिएको जीवन देख्दा अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाको मन पनि भारी भएको छ। उनले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि सुरक्षित कोठा निर्माणमा पहल गरिने बताएका छन्।
व्यास–८ अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्साल र राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले पनि झलकको अवस्था राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन्।
दाम्लो झलकलाई मात्र बाँधेको छैन। त्यसले एउटा आमाको आत्मा बाँधेको छ, एउटा युवाको सपना बाँधेको छ, र एउटा समाजको संवेदनशीलता परीक्षणमा राखेको छ। झलकलाई चाहिएको सहानुभूति होइन, सम्मानसहित बाँच्न पाउने अधिकार हो।