


दमौली, १२ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, बेनिटार स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँट निवासी २२ वर्षीय सूर्य नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । प्रहरीले निजकाे साथबाट ट्रामाडोल ४९० क्याप्सुल फेला पारेकाे प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप, तनहुँबाट खटिएको चेकिङ टोलीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख.६६९० नम्बरको ईभी माइक्रो बसलाई रोकी जाँच गर्दा उनी पक्राउ परेका हुन् ।
