


दमौली, १४ पुस । व्यास नगरपालिका-१३ स्थित बेनीकोटमा स्थानीय युवाहरूको सक्रिय पहलमा यात्रु प्रतीक्षालय निर्माण कार्य सुरु भएको छ। बेनीकोटकै सिद्धबाबा युवा क्लबको अगुवाइमा स्थानीय जनश्रमदानमार्फत प्रतीक्षालय निर्माण थालिएको हो।
क्लबका पूर्व अध्यक्ष लेखबहादुर थापाका अनुसार गाउँकै आवश्यकतालाई मध्यनजर गर्दै युवाहरू एकजुट भई यो कार्य अघि बढाइएको हो। सिद्धबाबा युवा क्लबका अध्यक्ष मनिष थापाले गाउँमा देउसी–भैलो खेलेर संकलन गरिएको रकम यात्रु प्रतीक्षालय निर्माणमा प्रयोग गरिएको जानकारी दिए।
हाल बेनीकोटमा एउटा मात्र बस सेवा सञ्चालनमा रहेको छ। बिहान ९ बजे बेनीकोटबाट दमौलीतर्फ छुट्ने र साँझ ४ बजे दमौली बजारको पदमचोकबाट बेनीकोट फर्किने दैनिक समयतालिका रहेको बसका चालक पूर्णबहादुर थापाले बताए। उनका अनुसार गाउँको सडक अझै स्तरोन्नति हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
गाउँका अभिभावक गणेश रानाले कृषि उपज बजारमा लैजान तथा विद्यार्थीहरूलाई दैनिक विद्यालय आउजाउ गर्न बस सेवा सहज नभएको गुनासो गरे। यस्ता समस्याका बीच युवाहरूको पहलमा यात्रु प्रतीक्षालय निर्माण सुरु हुनु गाउँवासीका लागि खुसीको खबर बनेको छ।
स्थानीय युवाहरूको यो प्रयासले सामुदायिक एकता मात्र होइन, गाउँको आधारभूत पूर्वाधार विकासमा समेत सकारात्मक सन्देश दिएको छ।