


दमौली, १९ पुस । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा तनहुँको आयोजनामा शनिबार व्यास नगरपालिका–३ स्थित प्रशासन चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रदेश अस्पताल दमौलीमा पछिल्लो समय देखिएको रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विश्व बुढा मगरले मानव जीवन बचाउन रक्तदानको भूमिका महत्वपूर्ण हुने भन्दै संस्थाले निरन्तर रूपमा सामाजिक कार्यलाई प्राथमिकता दिँदै आएको जानकारी दिए। उनले स्वस्थ व्यक्तिले समय–समयमा रक्तदान गर्न सके धेरै बिरामीको जीवन जोगाउन सकिने उल्लेख गरे।

रक्तदान कार्यक्रममा कुल १२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। संकलित रगत प्रदेश अस्पताल दमौलीमा उपचाररत बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले रक्तदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै यस्ता कार्यक्रमलाई सबै संघ–संस्थाले अनुसरण गर्नुपर्ने धारणा राखे।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदानलाई महान् दानको संज्ञा दिँदै नियमित रक्तदानले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।
प्रदेश अस्पताल दमौलीका अध्यक्ष कमलामोहन वाग्लेले अस्पतालमा दैनिक रूपमा रगतको आवश्यकता पर्ने भएकाले यस्ता सहयोगी कार्यक्रम अत्यन्तै उपयोगी हुने बताए। नेपाल रेडक्रस सोसाइटीका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले सुरक्षित रक्तदान र रगतको सही व्यवस्थापनका विषयमा जानकारी गराउँदै नागरिकलाई समय-समयमा रक्तदानमा सहभागी हुन आग्रह गरे।
