


चितवन, १३ माघ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको गैँडाको आक्रमणबाट सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घर नजिकैको मरड खोलामा घाँस–दाउरा गर्न गएका बेला उनलाई गैँडाले एक्कासि आक्रमण गरेको थियो। गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका भट्टराईलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको थियो। चितवन मेडिकल कलेजमा उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यस वर्ष मृत्यु भएका दुवै जना गैँडाकै आक्रमणमा परेका हुन्। निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको जोखिम बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।