


दमौली, २२ माघ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, दमौली शाखाको आयोजनामा पाँच दिवसीय ‘श्रीमद्भगवद्गीता ज्ञान महायज्ञ’ बिहीबारदेखि सुरु भएको छ। व्यास नगरपालिका–३ स्थित दमौली सभागृहमा सञ्चालित महायज्ञको पहिलो दिन नगरमा उल्लासमय कलश शोभा यात्रा निकालिएको थियो।
कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठले वर्तमान व्यस्त र तनावपूर्ण समयमा गीताको आध्यात्मिक ज्ञान अपरिहार्य रहेको बताए
महायज्ञमा प्रमुख वाचकको रूपमा रहेकी प्रसिद्ध भागवत वाचिका राजयोगिनी ब्रह्माकुमारी अमृत दिदीले पहिलो दिन गीता ज्ञानको वैज्ञानिक र व्यावहारिक सान्दर्भिकतामाथि प्रवचन दिइन्। विगत २५ वर्षदेखि आध्यात्मिक क्षेत्रमा समर्पित अमृत दिदीले गीताले मानिसको मनरुपी कुरुक्षेत्रमा चल्ने द्वन्द्व समाधान गरी पवित्रता र सुख प्राप्त गर्ने मार्ग देखाउने उल्लेख गरिन् ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति ब्रह्माकुमारीज बागलुङ क्षेत्रकी इन्चार्ज राजयोगिनी सावित्री दिदीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा ब्रह्माकुमारीज नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेश राज बरालको विशेष उपस्थिति रहेको थियो। महासचिव बरालले गीता केवल एउटा धर्मग्रन्थ मात्र नभएर यो जीवन जिउने कला सिकाउने ‘म्यानेजमेन्ट गाइड’ भएको धारणा राखे।
माघ २६ सम्म चल्ने महायज्ञका संयोजक ब्रह्माकुमार शिशिर रेग्मीका अनुसार आगामी माघ २६ गतेसम्म चल्ने यस कार्यक्रममा गीता ज्ञानका साथै राजयोग मेडिटेसन र तनाव व्यवस्थापनका सूत्रहरू सिकाइनेछ। कार्यक्रम पूर्णतः निःशुल्क र सबैका लागि खुल्ला गरिएको शाखा सञ्चालिका ब्रह्माकुमारी यमुनाले जानकारी दिइन्। कार्यक्रम दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।