लायन्स हेमोडायलासिस युनिट जिपी अस्पताललाई हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स हेमोडायलासिस युनिट जिपी अस्पताललाई हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८२, शुक्रबार

    दमौली, २३ माघ । लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ एल नेपाल, लायन्स क्लव अफ खैरेनीटार, लायन्स क्लव अफ तनहुँ म्याग्दे, लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले स्थापना गरेको लायन्स हेमोडायलासिस युनिट जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित अस्पतालमा लायन्सको सहयोगमा स्थापना गरिएको युनिट बिहीबार एक कार्यक्रमका बीच अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    क्लवले सात वटा डायलासिस उपकरण सहयोग गरेको छ । क्लवले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा करिब डेढ करोडको लागतमा उक्त युनिट सञ्चालन गरेको हो ।

    परियोजनाअन्तर्गत लायन्स क्लब इन्टरनेशनलबाट रु एक करोड ११ लाख ७२ हजार, शुक्लागण्डकी नगरपालिकाबाट रु २५ लाख, भिमाद नगरपालिकाबाट रु १० लाख र म्याग्दे गाउँपालिकाबाट रु छ लाख आर्थिक सहयोग प्राप्त भएको लायन्स क्लव ३२५ एल नेपालका क्याबिनेट सेक्रेटरी सुजित हिराचनले बताए ।

    डायलाइसिस सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला पीडितले सेवा लिन थालिसकेका छन् । हाल अस्पतालमा जडान गरिएका सात वटा उपकरणमध्ये पाँच वटा नियमित सेवाका लागि सञ्चालनमा रहेका छन् भने दुई वटा आपतकालीन प्रयोजनका लागि सुरक्षित राखिएका छन् । प्रारम्भमा एक सिफ्टमा सेवा सञ्चालन गरिएको भए पनि बिरामीको चाप बढेसँगै हाल दुई सिफ्टमा करिब ३० जना बिरामीले सेवा लिइरहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।

    क्लवका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको उपस्थितिमा उक्त उपकरण अस्पतालका निर्देशक श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

    क्लवका क्याबिनेट सेक्रेटरी हिराचनले यस क्षेत्रका मिर्गौला पीडितलाई सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेकाले अस्पतालमा युनिट स्थापना गरिएको जानकारी दिए ।