


दमौली, ११ वैशाख । व्यास नगरपालिकाले नगरभित्रका दीर्घरोगीलाई मासिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले हाल दुई सय ६६ जना दीर्घरोगीलाई प्रतिमहिना रु पाँच हजारका दरले भत्ता वितरण गरिरहेको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा दीर्घरोगीका लागि कुल रु ३९ लाख २८ हजार सहयोग गरिएको छ । उक्त रकम सम्बन्धित लाभग्राहीहरूको बैङ्क खातामै जम्मा गरिएको उनले जानकारी दिए।
नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, मधुमेह लगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्दै आएको हो । उपचारमा लाग्ने उच्च खर्चका कारण आर्थिक रूपमा कमजोर बिरामीलाई राहत पु¥याउने उद्धेश्यले यस्तो सहयोग प्रदान गरिएको उनले बताए ।