व्यास नगरपालिकाप्रति बहुआयामिक ध्यानाकर्षण, पारदर्शिता र सुशासनको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाप्रति बहुआयामिक ध्यानाकर्षण, पारदर्शिता र सुशासनको माग

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८३, मंगलवार

    दमाैली, २२ वैशाख । व्यास नगरपालिकाका विभिन्न समसामयिक विषयहरूलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) व्यास नगर सभापति चूडामणि दाहालले नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। उनले शिक्षा, फोहोर व्यवस्थापन, पूर्वाधार निर्माण, खानेपानी आयोजना तथा शिक्षक सरुवाजस्ता विषयमा स्पष्टता र पारदर्शिताको माग गरेका हुन्।

    दाहालले संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको सन्दर्भमा व्यास नगरपालिकाले पनि सोही अनुरूप तत्काल विद्यालयहरूमा बिदा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। उनले दीर्घकालीन रूपमा बर्खे बिदा, हिउँदे बिदा तथा कक्षा सञ्चालन समय मिलाउने व्यवस्था संघीय सरकारबाट आउने विश्वास व्यक्त गर्दै हाललाई तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। “संघीय सरकारले स्थानीय तहको अधिकार खोसेको होइन, बरु अझ मजबुत बनाउने दिशामा अघि बढेको छ,” उनले उल्लेख गरेका छन्।

    फोहोरमैला व्यवस्थापनका विषयमा उनले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने बताए। नगरपालिकाले केवल जग्गा खरिदलाई प्राथमिकता दिएको जस्तो देखिएको भन्दै सरकारी जमिनको उपयोग गर्न सकिने विकल्प हुँदाहुँदै अस्थायी समाधानतर्फ अघि बढेको आरोप लगाए। यस विषयमा तत्काल सर्वदलीय बैठक बोलाई दिगो समाधान खोज्नुपर्ने उनको माग छ।

    त्यसैगरी, व्यास नगरपालिकामा निर्माण प्रस्तावित १०८ फिट अग्लो मूर्तिको विषयमा पनि दाहालले गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १ करोड रुपैयाँ र चालु आर्थिक वर्षमा थप ३ करोड रुपैयाँ विनियोजन भए पनि हालसम्म ठेक्का प्रक्रिया अघि नबढेको र बजेट फ्रिज भएको छ। “यस विषयमा जनस्तरबाट पटक–पटक चासो व्यक्त हुँदा पनि नगरपालिका मौन देखिएको छ,” उनले भने, “यदि प्राविधिक कारणले आयोजना अघि बढ्न नसक्ने हो भने खर्च भइसकेको करिब ५–६ करोड रुपैयाँको जिम्मेवारी कसले लिन्छ?” उनले यसबारे स्पष्ट जवाफ दिन नगरपालिकासँग माग गरेका छन्।

    मानुङ्कोट लिफ्टिङ खानेपानी आयोजनाको विद्युत् जडान कार्यसमेत हालसम्म सुरु नभएकोप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। ठेक्का प्रक्रिया सम्पन्न भएको भन्ने जानकारी आए पनि काम अघि नबढ्नुको कारणबारे नगरपालिकाले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। “स्थानीय बासिन्दाको जीवनसँग प्रत्यक्ष जोडिएको आयोजनामा ढिलाइ हुनु गम्भीर विषय हो,” उनले बताएका छन्।

    यस्तै नगरपालिकाले मत परिणामको आधारमा शिक्षक सरुवामा हस्तक्षेप गरेको भन्ने गुनासोसमेत आएको दाहालले उल्लेख गरेका छन्। उनले शिक्षक सरुवामा प्रयोग हुने मापदण्ड, प्रक्रिया र आधारबारे सार्वजनिक रूपमा जानकारी गराउन नगरपालिकासँग आग्रह गरेका छन्। “सरुवा आतंक भएको भन्ने गुनासो आएको छ, यसलाई पारदर्शी र विधिसम्मत बनाउन आवश्यक छ,” उनले भने।