


दमौली, ६ जेठ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन जेठ १० गतेदेखि विभिन्न सडकमा एकतर्फी सवारी सञ्चालन लागू गर्ने निर्णय गरेको छ ।
निर्णयअनुसार वडा नं. २ मा पृथ्वी राजमार्गबाट ग्रिनसिटी टोल हुँदै भेटघाट चोकतर्फ मात्र सवारी प्रवेश गर्न पाइनेछ । त्यसैगरी वडा नं. ३ तर्फ पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षी चोकतर्फ मात्रै सवारी सञ्चालन गरिनेछ ।
यस्तै, पुरानो बैंक लाइन अन्तर्गत न्यूरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्गमा निस्कने गरी चारपाङ्ग्रे सवारी साधनलाई मात्र एकतर्फी प्रवेशको व्यवस्था गरिएको छ । उक्त क्षेत्रमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने जनाइएको छ ।
प्रहरी कार्यालयको दक्षिण–पश्चिमतर्फ रहेको चोकबाट पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिरतर्फ निस्कने सडकलाई पनि एकतर्फी बनाइने भएको छ । सो सडकखण्डमा समेत कुनै पनि सवारी पार्किङ गर्न निषेध गरिएको छ ।
नगरपालिकाले बजार क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा आवागमन सहज बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाएको छ ।