


दमौली, १२ असार । तनहुँ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति असार ११ गते बिहान ६ बजेदेखि असार १२ गते बिहान ६ बजेसम्म पोखरा–मुग्लिङ सडकखण्ड (पृथ्वीराजमार्ग) र डुम्रे–बेँसीशहर भित्री सडकखण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएका हुन्।
पोखरा–मुग्लिङ सडकखण्डमा भएको दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अर्का एक जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जना उपचाररत रहेका छन्। दुर्घटनामा मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।
यस्तै, डुम्रे–बेँसीशहर भित्री सडकखण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अर्का एक जनाको अवस्था मध्यम रहेको छ। दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा आंशिक क्षति पुगेको छ।