


दमौली, १२ असार । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित साँगे खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मारिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सॉगे खोलामा करेन्ट प्रयोग गरी माछा मारिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले माछा मार्न प्रयोग गरिएको करेन्ट लगाउने उपकरणसहित ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको थियो। नगरपालिकाले उनीहरूलाई रु १० हजार जरिवाना गरी रिहा गरेको जनाएको छ।
प्रहरीले नदी तथा खोलामा करेन्ट, विषादी वा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्नु गैरकानुनी कार्य भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै प्राकृतिक जलचर तथा जैविक विविधता संरक्षणका लागि यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।