


दमौली, १२ असार । लागुऔषधको ओसारपसार तथा दुरुपयोग नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँले साप्ताहिक लागुऔषध न्यूनीकरण तथा रोकथाम कार्ययोजना अन्तर्गत शुक्रबार विशेष चेकिङ अभियान सञ्चालन गरेको छ।
कार्यालयबाट तयार पारिएको कार्ययोजना बमोजिम गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरास्थित केनाइन शाखाको समन्वयमा शुक्लागण्डकी नगरपालिका–२, कोत्रे क्षेत्रमा डग स्निफिङ सहित संयुक्त चेकिङ गरिएको हो।
अभियानका क्रममा प्रहरीले सवारीसाधन, यात्रु तथा शंकास्पद वस्तुहरूको विशेष निगरानी र परीक्षण गरेको जनाएको छ। लागुऔषधको अवैध ओसारपसार, कारोबार तथा प्रयोग नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधविरुद्धका यस्ता लक्षित अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाइने जनाएको छ।