


काठमाडौं, १५ असार । लियो जिल्ला परिषद् ३२५ एल, नेपालले नवनियुक्त जिल्ला बोर्ड सदस्यहरूको नेतृत्व क्षमता विकास, संगठनात्मक अभिमुखीकरण तथा कार्यकुशलता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने बोर्ड डिक्लेरेशन तथा बोर्ड स्कुलिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंको दक्षिणकालीस्थित न्यू दक्षिणकाली भिलेज रिसोर्ट, डोल्लुमा आयोजित कार्यक्रममा लियो जिल्ला परिषद्का नवनियुक्त पदाधिकारी तथा बोर्ड सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ दक्षिणकाली मन्दिरमा विशेष पूजाआजा तथा आशीर्वाद ग्रहणबाट गरिएको थियो। त्यसपछि सहभागीहरूले फर्पिङ क्षेत्रका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्दै सम्पदा पदयात्रामा सहभागिता जनाएका थिए।
कार्यक्रममा वर्ष २०२६/२७ की डिस्ट्रिक्ट गभर्नर इलेक्ट लायन तारा भुसालले नवनियुक्त नेतृत्वलाई सेवामूलक कार्य, अनुशासन, प्रतिबद्धता तथा प्रभावकारी नेतृत्वमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरिन् ।
विशेष अतिथिका रूपमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, जीएमटी कोअर्डिनेटर मणिश्री रत्न बज्राचार्य, नोमिनेटेड लियो क्लब चेयरपर्सन महेश्वर बस्नेत, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर मनाकृष्ण श्रेष्ठ तथा नेतृत्व विकास प्रशिक्षक रमन भट्टराईको उपस्थिति रहेको थियो। त्यसैगरी लियो क्लब चेयरपर्सन योगेश श्रेष्ठ, वर्तमान जिल्ला अध्यक्ष सुलभ ठकाली, पूर्व जिल्ला अध्यक्षहरू योगेश गौतम र सन्तोष ढकाल रोशन बश्याललगायत उपस्थित थिए ।
त्यसक्रममा जिल्ला अध्यक्ष लियो कुशल लम्सालले आफ्नो कार्यकालको दृष्टिकोण, लक्ष्य तथा वार्षिक कार्ययोजना प्रस्तुत गरे। उनले ‘Passion Driven Action’ लाई केवल नारा नभई सम्पूर्ण लियो सदस्यहरूको कार्यशैली र प्रतिबद्धताको आधार बनाउने प्रतिबद्धता व्यक्त गरे ।
दुईदिने कार्यक्रमअन्तर्गत नेतृत्व विकास, समय व्यवस्थापन, संगठन सञ्चालन तथा प्रभावकारी कार्यसम्पादनसँग सम्बन्धित विभिन्न प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेतृत्व विकास, कार्य विभाजन, टोली समन्वय र जिम्मेवारी निर्वाहका विषयमा केन्द्रित विभिन्न ब्रेकआउट नेतृत्व सत्रहरू पनि सञ्चालन गरिएका थिए। सन्तोष ढकालले कार्यकारी समिति तथा जीएटी टिमका सदस्यहरूका लागि विशेष अभिमुखीकरण गरेका थिए भने योगेश गौतमले जिल्ला विभाग तथा प्रमुख विभागीय संयोजकहरूका लागि प्रशिक्षण दिएका थिए। त्यसैगरी जिल्ला अध्यक्ष लियो कुशल लम्सालले प्रमुख क्षेत्रीय संयोजक तथा क्षेत्रीय संयोजकहरूलाई लक्षित गरी नेतृत्व तथा कार्यसम्पादनसम्बन्धी विशेष सत्र सञ्चालन गरेका थिए ।
उनले कार्यक्रमले नवनियुक्त नेतृत्वलाई संगठनप्रति अझ सक्षम, जिम्मेवार, अनुशासित र सेवामुखी बनाउने महत्वपूर्ण आधार तयार गरेको बताए ।