महिला उद्यमशीलताको नयाँ अध्याय: तनहुँमा प्रदर्शनीले खोल्यो सम्भावनाको ढोका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमशीलताको नयाँ अध्याय: तनहुँमा प्रदर्शनीले खोल्यो सम्भावनाको ढोका

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८३, शनिबार

    दमाैली २० असार । अहिले महिलाहरू आफ्नै सीप र मेहनतका आधारमा उद्यम सञ्चालन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने यात्रामा छन्। समाज घरपरिवारले एवं स्वयंले नै बेरोजगार ठानिएका महिलाहरू विभिन्न सिपमूलक तालिमहरू लिँदै उद्यमीको यात्रामा अगाडि बढेका हुन्।

    उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारसँग जोड्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, तनहुँले आयोजना गरेको एकदिवसीय प्रदर्शनी तथा प्रवर्द्धन मेला केवल वस्तु प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, महिला उद्यमशीलताको सम्भावना उजागर गर्ने महत्वपूर्ण अभियान पनि बनेको छ।

    मेलामा महिलाले उत्पादन गरेका अचार, मसला, ढाका तथा हस्तकलाका सामग्री, घरेलु खाद्य परिकार, सजावटका सामग्री, कपडा तथा अन्य घरेलु उत्पादनहरू राखिएका थिए । जुन सामग्रीले स्थानीय स्रोत, श्रम र सीपको उत्कृष्ट प्रयोगलाई प्रतिबिम्बित गरेको थियो । प्रत्येक उत्पादनमा महिलाको मेहनत, लगनशीलता र सफलताको अठोट स्पष्ट देख्न सकिन्थ्यो।

    महिला उद्यम सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नेपालमा महिला उद्यमशीलताको चर्चा बढ्दै गए पनि अझै उत्पादनलाई बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको बताएका थिए ।

    न्यौपानेले उत्पादन राम्रो भए पनि बजारको पहुँच, ब्रान्डिङ, प्याकेजिङ, प्रचारप्रसार र लगानीको अभावले उनीहरूको व्यवसाय अपेक्षित रूपमा विस्तार हुन नसकिरहेको अवस्थामा यस्ता प्रदर्शनी महिला उद्यमीलाई आफ्ना उत्पादन प्रत्यक्ष उपभोक्तासम्म पुर्‍याउने राम्रो अवसर बनेको बताएका थिए।

    व्यास नगरपालिकाले महिलाहरूलाई उद्यमी बनाउनका लागि विभिन्न महिलासँग सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढिरहेको न्यौपानेको भनाइ थियो । उनले यस्ता कार्यक्रमहरूले उत्पादित वस्तुहरूको बजारको प्रतिक्रिया बुझ्नका लागि महत्त्वपूर्ण सघाउ पुग्ने बताएका थिए। जुन कार्य महिला उद्यमीसँग नेपाल तनहुँले गरिरहेको भन्दै उनले प्रशंसा समेत गरेका थिए ।

    न्यौपानेले यस्ता प्रदर्शनीलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी बजार विस्तार, डिजिटल व्यापार, ब्रान्ड विकास र निर्यातसम्म जोड्ने दीर्घकालीन योजनासँग आबद्ध गर्न व्यास नगरपालिका लागिरहेको बताएका थिए ।

    कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्यमशीलता केवल आम्दानीको माध्यम मात्र नभई आत्मविश्वास निर्माण गर्ने प्रक्रिया भएको बताएका थिए । आफ्नै कमाइबाट परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने महिलाले समाजमा सम्मान पनि हासिल गरिरहेको श्रेष्ठको विश्वास थियो। जसले गर्दा ‌अन्य महिलालाई समेत उद्यमतर्फ आकर्षित गर्ने वातावरण सिर्जना गरिरहेको श्रेष्ठले बताएका थिए ।

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष इमकुमार मल्लले छोटो समयमा पनि महिला उद्यमी सङ्घ नेपाल तनहुँले धेरै महिला उद्यमीहरू उत्पादन गर्न सकेकोमा धन्यवाद व्यक्त गरेका थिए। उनले महिलाको क्षेत्रमा सङ्घले रचनात्मक काम गरिरहेको स्मरण गर्दै उत्पादित वस्तुको बजारीकरणमा पनि ध्यान दिन आग्रह गरेका थिए। उनले महिला उद्यमीको सफलताले एउटा परिवार मात्र नभई समग्र समुदायलाई आत्मनिर्भर बनाउने सम्भावना बोकेको जनाएका थिए।

    उक्त कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, गैसस महासङ्घकी अध्यक्ष सरला श्रेष्ठ, महिला उद्यमी निशा कपाली लगायतले समयसमयमा हुने यस्ता मेला महोत्सवले महिला उद्यमीको वस्तु उत्पादन गर्ने इच्छाशक्तिमा वृद्धि हुने बताएका थिए। पछिल्लो समय सरकारी निकाय, स्थानीय तह र विभिन्न संघसंस्थाले महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम, सहुलियत ऋण तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन्। तर ती कार्यक्रमलाई निरन्तरता दिनुका साथै उत्पादनलाई स्थायी बजारसँग जोड्ने प्रभावकारी नीति अझै आवश्यक देखिएको महिला उद्यमीहरूको भनाइ थियो। उक्त कार्यक्रमको सञ्चालन सङ्घकी महासचिव सरु श्रेष्ठले गरेकी थिइन्।