


दमौली, २ साउन । जिल्ला प्रशासन कार्यालय तनहुँले पछिल्लो तीन महिनाको अवधिमा तीन हजार बढी नयाँ नागरिकता वितरण गरेको छ । कार्यालयले गत वैशाख १ गतेदेखि असार ३२ गतेसम्म तीन हजार २८ नागरिकता वितरण गरेको हो ।
वंशजका आधारमा एक हजार पाँच सय ५४ महिला र एक हजार चार सय ७४ पुरुषलाई नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।
सोही अवधिमा दुई हजार सात सय ९६ प्रतिलिपि नागरिकता वितरण गरिएको छ । एक हजार चार सय १२ महिला र एक हजार तीन सय ८४ पुरुषलाई प्रतिलिपि वितरण गरिएको रेग्मीले बताए । यस्तै तीन महिला र चार पुरुष गरी सात जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको छ ।
रेग्मीका अनुसार पाँच सय ६० जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ भने सात हजार सात सय २१ राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरिएको छ । यस्तै पाँच सय ८६ जनालाई आदिवासी जनजाति प्रमाणित, दुई सय ७५ जनालाई दलित प्रमाणित, ५५ जनालाई विपन्न खस आर्य प्रमाणित, २७ जनालाई मुस्लिम प्रमाणित गरिएको छ ।
कार्यालयले सोही अवधिमा एक हजार १७ महिला, एक हजार पाँच सय ४४ पुरुष र ५२ नाबालक गरी दुई हजार सय १३ जनालाई राहदानी सिफारिस गरेको छ भने दुई हजार पाँच सय ३८ राहदानी वितरण गरेको छ ।
कार्यालयले सो अवधिमा संस्था दर्ताबाट रु एक लाख ५५ हजार ५०, हातहतियारबाट रु तीन लाख छ हजार दुई सय ५०, राहदानी दस्तुरबाट रु एक करोड ३९ लाख ४० हजार छ सय, न्यायिक दण्ड जरिवानाबाट रु पाँच लाख ७२ हजार, अन्य प्रशासिनक सेवा शुल्कबाट रु ३५ हजार राजश्व सङ्कलन गरेको छ ।