


दमाैली ३ साउन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबार बिहान पोखरा–मुग्लिङ सडकखण्डमा विशेष चालक सचेतना अभियान सञ्चालन गरेका छन्।
बिहान ४:०० बजेदेखि सञ्चालन गरिएको अभियानअन्तर्गत ३१ वटा दुईपाङ्ग्रे, ४३ वटा साना चारपाङ्ग्रे तथा ५६ वटा ठूला सवारीसाधन गरी कुल १३० चालकलाई सडक सुरक्षा, लेन अनुशासन, गति नियन्त्रण तथा ट्राफिक नियमको पालनाबारे जानकारी दिँदै सचेत गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले पछिल्लो समय मानवीय लापरबाही, तीव्र गति र ट्राफिक नियमको बेवास्ताका कारण सवारी दुर्घटना बढ्दै गएकाले दुर्घटना हुनुअघि नै चालकलाई सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार वर्षायामका कारण सडक चिप्लो हुनुका साथै कतिपय स्थानमा पहिरो र ढुंगा खस्ने जोखिम रहेकाले चालकले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ। चालकको सानो लापरबाहीले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षित यात्राका लागि सबैले जिम्मेवार बन्नुपर्ने उनले जाेड दिए ।