


दमौली, ९ साउन। लमजुङको मध्यनेपाल नगरपालिका–४ रम्घास्थित भानुघाँसी पार्कमा रहेको घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड गरिएको घटनाप्रति नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनालाई बर्बर, कायरतापूर्ण तथा इतिहास, पहिचान र सामाजिक सद्भावमाथिको आक्रमणको संज्ञा दिएको छ। घाँसी खड्कबहादुर ठाडामगर नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका प्रेरणाका स्रोत तथा श्रम, लोककल्याण र सामाजिक स्वाभिमानका प्रतीक रहेको उल्लेख गर्दै उनको योगदानलाई कुनै पनि घटनाले मेटाउन नसकिने संघको भनाइ छ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खड्कबहादुर आले मगर र सचिव भोजप्रसाद खण्डलुक मगरद्वारा जारी विज्ञप्तीमा रातिको समयमा गरिएको शालिक तोडफोड नियोजित अपराध भएको दाबी गर्दै प्रहरी प्रशासनसँग निष्पक्ष छानबिन, गम्भीर अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ। साथै, क्षतिग्रस्त शालिकलाई सम्मानपूर्वक पुनर्स्थापना गर्न पनि आग्रह गरिएको छ।
प्रशासनले घटनामा आलटाल गरे वा दोषीलाई उन्मुक्ति दिने प्रयास गरे इतिहास, स्वाभिमान र न्यायको रक्षाका लागि न्यायप्रेमी नागरिक, जनजातीय समुदाय र आम सर्वसाधारण सशक्त रूपमा आवाज उठाउन बाध्य हुने चेतावनी पनि संघले दिएको छ।